global ime bank Long Banner Ad

गृहपृष्ठ भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान हो: उपराष्ट्रपति पुन

भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान हो: उपराष्ट्रपति पुन

भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान हो: उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा हरेक राष्ट्र र समुदायको मौलिक पहिचान भएको बताए । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का उपलक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक संगठन (युनेस्को) काठमाडौंसँगको सहकार्यमा आज आयोजना गरिएको मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले ऐतिहासिक कार्य लेखन भाषामार्फत नै हुने भएकाले भाषाको विकास नभए देशको विकास नहुने भनेका छन् ।

उनले भने, 'भाषा, कला, संस्कृतिका क्षेत्रमा नेपाल विश्वमै धनी देश हो, यहाँ सयौँ भाषाभाषीहरू रहेका छन्, भाषाको विकास गर्न नसके देशको विकास हुन गाह्रो छ ।' सोही कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल प्रज्ञा-प्रतिष्ठानले करिब ४० प्रतिशत भाषाहरू लोप हुन थालेको जानकारी गराएकाले हाम्रा भाषा, कला, संस्कृति तथा मौलिक परम्पराको सधैँ जाेगाउनुपर्ने धारणा राखे ।

अंग्रेजी भाषालाई अहिले बढी प्रयोगमा ल्याइने गरेका कारण पनि नेपाली मौलिक तथा मातृभाषा लोप हुन थालेकोप्रति इंकित गर्दै उपराष्ट्रपति पुनले भने, 'जुनसुक्कै भाषा सिक्नु राम्रो हो तर आफ्नो मौलिक भाषा, कला तथा संस्कृति बिर्सिनु राम्रो होइन ।' यसैगरी उपराष्ट्रपति पुनले देशमा हाल उत्पन्न भइरहेका केही विवादका विषयमा सबैको राष्ट्रिय सहमति गराएर समस्या हल गर्नुपर्नेमा समेत जोड दिए ।

सोही कार्यक्रमका विशिष्ट अतिथि तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भाषा बिना इतिहाससँग सम्बन्धित सामग्रीको समेत कल्पना गर्न नसकिने बताउँदै भाषाको जगेर्ना गर्न अति आवश्यक रहेको बताए । उनले भने, 'भाषा भनेको आफ्नो मौलिक पहिचान गराउने चीज हो, लोप भइरहेका भाषा संरक्षण गर्नु आजको आवश्यकता हो ।' यसैगरी मन्त्री आलेले नेपाली भाषा, कला, संस्कृतिको संरक्षण लागि आफूसहित पर्यटन मन्त्रालय पूर्णरूपमा कटिबद्ध भएको भने । यसैगरी मन्त्री आलेले सांकेतिक भाषा प्रयोग गर्नेहरूका हकमा त्यही भाषा नै उनीहरूको मातृभाषा भएको विचार व्यक्त गरे ।

प्रकाशित समय : ००:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु