गृहपृष्ठ बागमती प्रदेशमा ९६ प्रतिशतले कोरोना संक्रमणविरुद्ध खोप लगाए
बागमती प्रदेशमा ९६ प्रतिशतले कोरोना संक्रमणविरुद्ध खोप लगाए
बागमती प्रदेशमा कोरोना संक्रमण विरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमण विरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएको छ ।
हेटौंडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । खोप अभियान तीव्र रुपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको संख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षतिमात्र नभई अर्थतन्त्रमा समेत क्षति पुर्याएको बताउँदै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताए । मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफैँ पुगेर कोरोना संक्रमण विरुद्धको खोप अभियानअन्तर्गत शिविर सञ्चालन गरेका थिए । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना संक्रमण विरुद्धको खोप लगाएको छ ।
साथै कोरोनाविरुद्धको खोप लगाउने र स्वाब संकलन कार्य जिल्लामा जारी रहेको बताइएको छ । जिल्लामा कोरोना संक्रमण हुनेको संख्या हालसम्म १७ हजार ९११ जना रहेको र हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या १७१ जना रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रति घट्दै गएको छ ।
प्रकाशित समय : २२:३० बजे



















