गृहपृष्ठ हर्मुजमा इरानको दाबी
हर्मुजमा इरानको दाबी
अमेरिका–इरान युद्ध अन्त्य गर्ने उद्देश्यले स्विट्जरल्यान्डमा सम्पन्न वार्तापछि इरानले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी आफ्नो प्रशासनिक नियन्त्रणमा रहने घोषणा गरेको छ । इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर घालीबाफले युद्धअघि जस्तो अवस्था अब कहिल्यै नफर्कने र अन्तर्राष्ट्रिय कानूनअनुसार हर्मुज इरानद्वारा नै प्रशासित हुने बताए ।
स्विट्जरल्यान्डको बर्गनस्टक रिसोर्टमा अमेरिका र इरानबीच भएको वार्तापछि तेहरान फर्कनुभएका घालीबाफले वार्ताबाट सकारात्मक उपलब्धि हासिल भएको दाबी गरे । उनले हर्मुज जलघाँटी, लेबनानको अवस्था, इरानी तेलमा दिइने छुट तथा रोक्का गरिएका सम्पत्ति फुकुवाका विषयमा महत्त्वपूर्ण प्रगति भएको बताए ।
इरान र संयुक्त राज्य अमेरिका सोमबार हर्मुज जलघाँटी खुला राख्ने, समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्ने तथा लेबनानमा जारी द्वन्द्व अन्त्यका लागि सञ्चार संयन्त्र स्थापना गर्न सहमत भएका थिए । मध्यस्थकर्ताहरूका अनुसार मध्यपूर्वमा फैलिएको तनाव कम गर्न दुवै पक्षबीच प्रत्यक्ष सम्पर्कको व्यवस्था गर्ने समझदारी पनि भएको छ ।
घालीबाफले भिडियो सन्देशमार्फत आफूहरू अझै प्रक्रियाको प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै कूटनीतिक प्रयास निरन्तर जारी रहने बताए । उनका अनुसार यो यात्रा विशेषगरी जलघाँटीको व्यवस्थापन, लेबनानको अवस्था, तेल कारोबार र आर्थिक विषयमा उपयोगी साबित भएको छ ।
वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले संयुक्त राष्ट्रसङ्घका आणविक निरीक्षकहरूलाई पुनः देशभित्र काम गर्न अनुमति दिने जानकारी दिएका थियो। त्यसलगत्तै अमेरिकाले इरानी तेलमाथि लगाइएका केही प्रतिबन्ध अस्थायी रूपमा निलम्बन गरेको जनाइएको छ ।
सम्झौताअनुसार तेहरानले प्रतिबन्धमा आंशिक राहत पाउने तथा विदेशमा रोक्का गरिएका सम्पत्तिहरू फुकुवा हुने अपेक्षा गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार घालीबाफले वार्तापछि ओमानमा पनि भ्रमण गरेका थिय । ओमान हर्मुज जलघाँटीसँग जोडिएको मुलुक हो ।
युद्धको सुरुआती चरणमा इरानले बन्द गरेको हर्मुज जलमार्ग अमेरिका र इरानबीचको सहमतिपछि गत साता पुनः सञ्चालनमा आएको थियो । तर लेबनानमा भएको इजरायली आक्रमणको प्रतिक्रियास्वरूप तेहरानले शनिबार फेरि जलघाँटी बन्द गर्ने घोषणा गरेको थियो ।
कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूका अनुसार त्यसयता तेहरान र वासिङ्टनले व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न, सम्भावित घटना रोक्न र गलत बुझाइबाट उत्पन्न हुन सक्ने तनाव कम गर्न प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् ।
समुद्री यातायात निगरानी गर्ने संस्थाहरूका अनुसार अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी सहमति नजिकिँदै जाँदा सोमबार हर्मुज जलघाँटीमा जहाजहरूको आवागमन फेरि तीव्र गतिमा बढ्न थालेको छ ।
प्रकाशित समय : १२:४८ बजे



















