कांग्रेस गण्डकीकाे सभापतिमा संस्थापनइतरका शर्मा विजयी
वि.सं.२०७८ मंसिर १९ आइतवार १५:३९
shares

नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेकाे निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले बताए ।
यस्तै, मतगणना अनुसार उपसभापतिमा शर्मा प्यानलकी कल्पना तिवारी र जोशी प्यानलका मेखलाल श्रेष्ठ निर्वाचित भएका छन् । तिवारीले ६२४ मत र श्रेष्ठले ५५६ मत ल्याएर विजयी भएका हुन् । उपसभापतिमा प्रतिस्पर्धा गरेका हरिप्रसाद श्रेष्ठले ५४८ र नेत्रबहादुर महतले ४५६ मत प्राप्त गरी पराजित भएका छन् ।
महामन्त्रीमा शर्मा प्यानलका किरणबाबु श्रेष्ठले ५७३, विष्णु लामिछानेले ५६४ मत तथा सहमहामन्त्रीमा शर्मा प्यानलकै रमेशकुमार पाण्डेले ६०५ मत र ५७० मत ल्याएर रामचन्द्र जोशी विजयी भएका छन् । सहमहामन्त्री महिलातर्फ शर्मा प्यानलकी कोपिला रानाभाट ५९२ मत ल्याएर बिजयी भइन् ।
कुल एक हजार एक सय ६६ प्रतिनिधि रहेकोमा एक हजार एक सय ४६ मत खसेको कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।























