कांग्रेस कर्णालीकाे सभापतिमा देउवानिकट ललितजंग शाही विजयी
वि.सं.२०७८ मंसिर १९ आइतवार १५:२५
shares

नेपाली कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट सभापति पदमा ललितजंग शाही निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीलाई १०५ मतान्तरले हराउँदै उनी प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् ।
निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजंगले ४२२, उनका प्रतिद्वन्द्वी भूपेन्द्रजंगले ३१७ र मोतीराज बमले सात मत प्राप्त गरेका थिए । सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजंग दोस्रो संविधानसभामा सदस्य हुन् । कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो ।
विधान अनुसार प्रदेश कार्यसमितिको पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री पुरुषतर्फ दुई र महिलातर्फ एक निर्वाचित हुने व्यवस्था छ । सभापति निर्वाचित भएका शाही पार्टी सभापित शेरबहादुर देउवा नेतृत्वकाे संस्थापन पक्षका हुन् । कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ ।
देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकायाले जितेका छन् । यस्तै सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाया कुमारी शाही निर्वाचित भएका छन् ।
सभापतिमा पराजित भएका भूपेन्द्रजंग शाही र मोतीराज बम कालिकोटका हुन् । भूपेन्द्रजंग तरूणदलका महामन्त्री हुन् । यसअघि उनी नेपाल विद्यार्थी संघको उपाध्यक्ष पनि थिए । उनी तीन कार्यकाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए । २०७० सालको संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभामा उम्मेदवार बनेका शाही दुवै पटक माओवादीका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए ।























