global ime bank Long Banner Ad

गृहपृष्ठ ‘हामी जनप्रतिनिधि आइसकेपछि केही फरक पक्कै भएको छ’

‘हामी जनप्रतिनिधि आइसकेपछि केही फरक पक्कै भएको छ’

‘हामी जनप्रतिनिधि आइसकेपछि केही फरक पक्कै भएको छ’

क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो स्थानीय तह हो, बझाङको साइपाल गाउँपालिका । करिब तीन हजार जनसंख्या भएको यस गाउँपालिकामा आयस्रोतको रुपमा जडिबुटी र पशुपालन मात्रै हो । तीन महिनालाई मात्रै पुग्ने गरी उब्जनी हुने साइपालमा बाँकी ९ महिनानै खाद्यान्न किनेर खानुपर्ने अवस्था छ । साइपालमा वर्षे बालीमात्रै उत्पादन हुने गर्दछ । पाँच हजार मिटरको उचाईमा पर्ने साइपालमा जौं, गहुँ, फापर, कोदो, आलु उत्पादन हुन्छ । सदरमुकामबाट तीन दिन पैदल हिँडेर जानुपर्ने साइपालमा ढुवानी खर्च भने तेब्बर नै हुने गर्छ । खच्चडको ढुवानी प्रतिकेजी १५० रुपैयाँ र मान्छेले बोक्ने सामानको ढुवानी २५० रुपैयाँसम्म पर्छ । यसरी हेर्दा जिल्ला सदरमुकाम चैनपुरमा २० केजी चामलको एक हजार पाँच सय रुपैयाँ परे पनि साइपालसम्म मान्छेले ढुवानी गर्दा २० केजी चामलको ६ हजार पाँच सय रुपैयाँ पर्न जान्छ । खच्चडले बोक्दा पनि चार हजार रुपैयाँको हाराहारीमा पर्ने गरेको छ । वार्षिक पाँच हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने साइपालमा खाद्य संस्थानमार्फत् सहुलियतमा उपलब्ध हुन्छ । साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीसँग न्युजकारोबारका लागि भूमिराज पिठातोलीले गरेको कुराकानी ।


अहिले साइपालका ६१० परिवार कसरी पालिएका छन् ?

बझाङ एक हिमाली जिल्ला हो । त्यसमा पनि साइपाल गाउँपालिका त झनै हिमाली क्षेत्र नै हो । साइपालमा उत्पादन हुने खाद्यवस्तु तीन महिनालाई मात्र पुग्छ । त्यहाँको आयस्रोत भनेकै जडिबुटी हो । अरु उत्पादन खासै हुँदैन । खाद्य संस्थानको अस्थायी डिपोमार्फत खाद्यान्न ढुवानी हुने गरेको थियो । यो पटक पनि दसैंअगावै खाद्यान्न साइपालमा पुगिसक्नुपर्ने थियो । यो वर्ष भने ठेक्काको प्रक्रियामा ढिलाई भएका कारण खाद्यान्न पनि ढुवानी हुन सकेको छैन । त्यसैमा बझाङमा गएको कात्तिक पहिलो हप्ता आएको बाढीको कारण सडक अवरुद्ध हुँदा ढिलाई भएको हो ।

यहाँ वर्षायाममा मकै, आलु, फापर र हिउँदेमा जौ, गहुँ मात्रै उत्पादन हुन्छ । उत्पादन भएको पनि तीन महिना मात्रै चल्छ । खाद्य संस्थानमार्फत ठेक्का लिने प्रावधान छ । टेन्डरमार्फत सस्तोमा ठेक्का लिने गर्छ । यो पटक पनि दसैँअघि नै खाद्यान्न पुगिसक्नुपर्ने हो । ठेकेदारको कारण र खाद्य संस्थानको लापरबाहीले अहिले ढिलाई भएको हो । टेन्डरमार्फत काम गर्ने भन्ने कम्पनीले पछि नसक्ने भनेपछि खाद्य संस्थानले दोस्रो पटक टेन्डर आह्वान गर्न ढिलाइ गरेकोले समस्या भएको हो । अब केही दिनमै खाद्यान्न उपलब्ध गराउने भनेको छ ।

साइपालमा संकटको अवस्था त पहिले पनि थियो । तपाईंहरु आएपछि के फरक भयो र ?

मुलुक संघीयतामा जानुभन्दा पहिले स्थानीय स्तरमा गाउँ विकास समिति (गाविस) थिए । त्यो बेलामा साइपालमा पनि काँडा गाविस थियो । त्यो गाविसबाट जनताले सेवासुविधाहरु पाउन सकेका थिएनन् । सञ्चार प्रविधि भन्ने साइपालवासीलाई थाहै थिएन । कुनै पूर्वाधारको अवस्था पनि थिएन । जनप्रतिनिधिहरु आइसकेपछि केही फेरबदल गरेका छौं । अँध्यारो साइपाल भनिएको ठाउँमा पनि प्रकाश छरेका छौं । साइपालका पाँचै वडावासीलाई टेलिकमसँग समन्वय गरेर सूचनाको पहुँचमा पुर्‍याएका छौं । उर्जाको व्यवस्था पनि गरेका छौं । पहिले एउटै काँडा स्वास्थ्य चौकी मात्रै थियो । अहिले सबै वडाहरुमा स्वास्थ्य चौकी छन् । एउटै आधारभूत विद्यालय थियो, त्यो पनि अहिले मावि भएको छ । पहिले विद्यालयमा शिक्षकहरुको दरबन्दी पनि खासै थिएन । निजी क्षेत्रबाटै शिक्षकले सघाउनुपथ्र्यो । अहिले शिक्षक थपिएका छन् । हामी आएपछि केही परिवर्तन भएको छ ।

खाद्य संकटकै कुरा गर्दै ‘हुने खाने’सँग खाद्यान्न मौज्दात पुरानै पनि बचत होला । बढी नै खरिद गरेर राखेका पनि होलान् । तर, ‘हुँदा खाने’ वर्ग त तपाईंहरुकै भरमा होलान् नि । कस्तो महशुस गर्नुहुन्छ ?

पछाडि परेका वर्गलाई अनुदानको व्यवस्था गरेका छौं । एकल महिला, दलित, अपांगता भएका, वृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था भइसकेको छ । त्योसँगै जीविकोपार्जन सहजताका लागि सीपमूलक कार्यक्रमहरु गराएका छौं । समाजमा सबै वर्गलाई समेटेर गाउँपालिकाको स्रोतले पुग्नेगरी कार्यक्रम गरिरहेका छौं ।

सामाजिक सुरक्षा भत्ता पाइरहेकाहरु कति छन् ?

सामाजिक सुरुक्षा भत्ता कति जनाले खाइरहनुभएको छ भन्ने ठ्याक्कै त थाहा छैन । तर, पहिलेभन्दा संख्या बढेको छ । पहिले सयौं जनाले नागरिकता पाएका थिएनन् । नागरिकताका लागि जिल्ला सदरमुकाम जानुपर्छ । जिल्ला सदरमुकाम जानलाई तीन दिन पैदल हिँड्नुपर्छ । परिचय पत्र नै थिएन । २०७५ सालमा नागरिकता वितरण शिविर सञ्चालन गर्‍यौं । त्यो बेलासम्म ६०÷७० वर्षसम्म उमेर पुगेकाहरुले पनि नागरिकता पाएका थिएनन् । अपांगता भएकाहरुले भएकाहरुले परिचयपत्र नै पाएका थिएनन् । आर्थिक अभावका कारण र सदरमुकाम टाढा भएका कारण नागरिकता तथा परिचयपत्रबाट वञ्चित भएका थिए । हामीले नागरिकता र स्वास्थ्य शिविर लिइसकेपछि धेरै बिरामीहरुले उपचार पाए । परिचयपत्र, नागरिकता पनि पाए । अहिले उहाँहरुले सामाजिक सुरक्षा भत्ता खाइरहनुभएको छ ।

गाउँपालिकाको मुख्य आयस्रोत के हो ?

व्यापार, व्यवसाय, जडिबुटी र पशुपालनबाट संकलन हुने कर नै गाउँपालिकाको मुख्य आयस्रोत हो । हिमाली क्षेत्रका बहुमूल्य जडिबुटीबाट संकलन तथा व्यवसायिक रुपमा पालेका भेडाच्यांग्राबाट नै आन्तरिक राजस्व संकलन भइरहेको छ ।

ताक्लाकोट नाका खुलाउन आश्वासन दिने सांसदहरूप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?

यसमा प्रदेश, संघीय सांसदभन्दा पनि हामी स्थानीय जनप्रतिनिधिको पनि त्यति नै जिम्मेवारी हो । सबै तहको काम कर्तव्यमा हाम्रो समन्वयको कमजोरी भएको हुन सक्छ । साइपाल सडक सञ्जालमा जोड्न त्यति सहज छैन । सबैभन्दा टाढा त्यसैमा हिमाली क्षेत्र भयो । चट्टानै चट्टान भएको ठाउँ । सेती नदीको मुहान भएको ठाउँसमेत भएको हुँदा दर्जनौं पुलहरु बनाउन पर्नेछ । यहाँको जनसंख्या पनि एकदमै कम छ । साइपालको आवाज सुनाउन सक्ने स्थिति छैन । त्यसैले ताक्लाकोट नाका खुलाउन ढिलाई भएको हो । अरुले के गरेभन्दा पनि स्थानीय र प्रदेश सरकारले चैनपुर-ताक्लाकोट हुँदै कविलास मानसरोवर सम्मको जोड्ने सडक महत्वपूर्ण हो । यसमा प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने हो । हामी पनि यो सडकका लागि लागि रहेका छौं । 

तपाईंहरु जनप्रतिनिधि भएको साढे चार वर्ष भइसक्यो । यो बीचमा के कति काम गर्नुभयो ?

पहिले सञ्चारको पहुँच थिएन । लाइन लागेर १० रुपैयाँ तिरेर एउटा फोन गर्नुपर्थ्याे । अहिले इमेल इन्टरनेटको पहुँच नभए पनि नेपाल टेलिकमसँग समन्वय गरेर सञ्चारको पहुँच बढाएका छौं । त्यस्तै अहिलेसम्म विद्युतको पहुँचमा नपुगेको साइपालमा हाइड्रोपावरको निर्माण गरेर अहिले साइपालमा राति पनि उज्यालो हुने गरेको छ । त्यस्तै स्वास्थ्यमा साविकको काँडा गाविसमा एउटै स्वास्थ्य चौकी मात्रै थियो । त्यसमा पनि सिटामोल मात्रै पाउँथ्यो । अहिले सबै वडामा स्वास्थ्य चौकी छन् ।

त्यहाँका नागरिकले नजिकको वडाबाट सेवा लिइरहेका छन् । विद्यालयको हकमा पहिले एउटै विद्यालय थियो । अहिले दुईवटा आधारभूत र एउटा मावि स्थापना भएको छ । आर्थिक अभाव भएको विद्यार्थीले बाहिर अध्ययन गर्न जानुपर्ने अवस्था छैन । जुन अहिलेको आयोडिन नून छ । त्यो पहिले सदरमुकाममा ९ रुपैयाँमा पाउने साइपालमा ५०/६० रुपैयाँ पथ्र्यो । अहिले साइपालमै अस्थायी डिपो राखेर सहुलियतमा सामानहरु उपलब्ध छन् । धेरै गर्न नसके पनि हामी जनप्रतिनिधि आइसकेपछि केही फरक पक्कै भएको छ ।

चाहेर पनि गर्न नसेकेको काम ?

यो हाम्रो सिकाइ पनि हो । हामीसँग पर्याप्त कर्मचारी थिएनन् । पछि कर्मचारीको व्यवस्था पनि भयो । पछिल्लो समयमा हामीले चाहँदा चाहँदै पनि कोरोना भाइरसका कारणले काम गर्न अलि असहज भयो । दोस्रो कुरा, हामीले अरु निकायसँग पर्याप्त समन्वय गर्न सकेनौं । हामीले माग गरेका बजेट प्रदेश र संघ सरकारले समयमा उपलब्ध भएन । जस्तो हामीले खानेपानीका लागि बजेट माग ग¥यौं भने अर्कै योजनाका लागि बजेट आयो । त्यसले गर्दा समन्वयमा हाम्रो कमजोरी भयो । जनतासँग प्रत्यक्ष जोडिएका भनेका स्थानीय जनप्रतिनिधि नै हुन् । हामीले मागेका योजनाहरु समयमै आएका भए केही विकास पनि हुन्थ्यो । नियमित रुपमा प्रदेश र संघ सरकारसँग समन्वय नहुनु नै हामी सबैको कमजोरी भयो ।

साइपालका जनताको मुख्य समस्या के के हुन् ?

अहिले साइपालका जनताको मुख्य समस्या सडक सञ्जालमा नजोडिनु नै हो । जिल्ला सदरमुकामबाट धेरै टाढा भएको र चट्टानै चट्टान भएको ठाउँमा सडक ल्याउँदा पनि ठूलो बजेटको आवश्यक पर्छ । बीचमा कतै-कतै ट्रयाक पनि खोलिएको छ । तर, समस्या के भयो भने जाडोले केही समयमा मात्रै काम गर्न सकिने भयो । अब वर्षायाममा केही समय काम भए पनि हिउँद नलाग्दै पानी जम्ने हुँदा काम गर्नै नसक्ने भएर पनि लम्बिदै गएको हो । त्यो बेलामा ठेकेदारको लापरबाहीले पनि ढिलाई भएको हो ।

हिमाली जडिबुटीको बजारीकरण कसरी गरिरहनुभएको छ ?

संरक्षणको आधारमा भन्ने हो भने हामीले सबै वडाका केही युवाहरुलाई थोरै पारिश्रमिक दिएर स्वयंसेवकको जिम्मेवारी दिएर खटाएका छौं । चोरी निकासी, आगलागीलाई नियन्त्रण गर्न जिल्ला वन कार्यालयसँग समन्वय गरेर स्थानीय वन उपभोक्तासँगै मिलेर केही युवाहरुलाई परिचालन गरेका छौं । त्यस्तै संकलनमा पनि पहिले इजाजत नभएरै नाका नजिक पर्ने हुँदा चिनियाँ व्यापारीहरुले संकलन क्षेत्रबाटै यार्सागुम्बा संकलन गरेर लिन्थे भने अहिले इजाजत पत्र नपाउँदासम्म कारोबार गर्न पाइँदैन ।

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु