गृहपृष्ठ हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीलाई एक तह बढुवा
हिमाल आरोही सशस्त्र प्रहरीका दुई महिला कर्मचारीलाई एक तह बढुवा
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निमदिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीलाई एक तह बढुवा दिइने भएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडी बढाईएको छ भने सशस्त्र प्रहरी सहायक हवलदार कार्कीलाई सहायक हवलदार पदमा बढुवा भएको अवधि पुगेपछि हवलदारमा बढुवा गरिने भएको छ ।
जेठ ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा राखिएको सम्मान कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले यस्तै बताएका हुन् ।
साथै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हवलदार कार्कीलाई हार्दिक बधाई दिनुकासाथै उनीहरुले विश्वको सर्वोच्च शिखरमा राष्ट्र र सङ्गठनको झन्डा फहराउनु गर्भको विषय भएको उल्लेख गरे ।
उनले उच्च मनोबल र हौसलाकासाथ विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा राष्ट्र र सङ्गठनको झन्डा फहराउनु गौरवको विषय भएको चर्चा गर्दै उनीहरुले गरेको हिमाल आरोहणले सकल दर्जाका राष्ट्र सेवक सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबलमा समेत हौसला, प्रेरणा र उत्साह मिलेको बताए ।
सो कार्यक्रममा शेर्पा र कार्कीले राष्ट्र र सङ्गठनको झन्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउनु गर्वको विषय भएको र सफल आरोहणका लागि सहयोग, समन्वय तथा साथ दिनुहुने सशस्त्र प्रहरी बल नेपाल लगायत सम्पूर्णमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरे ।
सशस्त्र प्रहरी सहायक हवलदार अनिता कार्कीले जेठ ३ गते बिहान १० बजेर २० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् भने सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले सोही दिन बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथा र जेठ ४ गते दिउँसो ३ बजेर २५ मिनेटमा लोत्से हिमालको सफल आरोहण गरेकी थिइन् ।
सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू पहिलो महिला आरोही हुन् । उनीहरूको यस ऐतिहासिक सफलताले सशस्त्र प्रहरी बल नेपालभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको छ ।
प्रकाशित समय : १७:१८ बजे



















