गृहपृष्ठ प्रधानन्यायाधीश प्रकरणमा बारको आन्दोलन तेस्रो चरणमा, गृहमन्त्रीको पनि राजीनामा माग
प्रधानन्यायाधीश प्रकरणमा बारको आन्दोलन तेस्रो चरणमा, गृहमन्त्रीको पनि राजीनामा माग
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध कात्तिक १४ देखि आन्दोलन गर्दै आएको नेपाल बार एशोसिएशनले तेस्रो चरणको आन्दोलन सुरु गरेको छ । न्यायालयमा विकृति भित्र्याएको भन्दै राणाको राजीनामा माग गरिरहेको बारले कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा धर्ना दिँदै आएको थियो । अब तेस्रो चरणको आन्दोलनबाट राजीनामा दिन बाध्य पार्ने बारको भनाई छ ।
अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोला प्रक्रियाद्वारा पेसी तोक्ने व्यवस्था गरेर प्रधानन्यायाधीशबाट उक्त अधिकार खोसियो भन्दैमा ढुक्क हुने अवस्था नरहेको बताए । उनले भने, ‘अहिले पेसी तोक्न र न्याय सम्पादन गर्नबाट प्रधानन्यायाधीशलाई हटाउन खोजिएको छ । तर बिचौलियालाई पाल्ने, न्याय परिषद्बाट न्यायाधीशहरूलाई सरुवा गर्ने र काजमा पठाउने अधिकार उनैलाई छ,’ उनले भने, ‘त्यो नखोसेसम्म प्रधानन्यायाधीश ढुक्क भएर बस्छन् । उनले खाने तरिका अर्को छँदैछ । त्यो रोक्नका लागि न्याय प्रशासनको अधिकार पनि खोस्नुपर्छ । गोला प्रणालीको आधारबाट उनको दाह्रा, नंग्रा त झिकियो तर चपाउने दाँत बाँकी नै छन् ।’
कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाणको समेत राजीनामा माग गरेका छन् । सर्वोच्च अदालत परिसरभित्र शान्तिपूर्ण धर्ना कार्यक्रममा अवरोध गर्न सशस्त्र र दंगा प्रहरी परिचालन गरेको भन्दै उनीहरूले गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् ।
नेपाल बारले सोमबार देशभरिका अदालतमा १० देखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना, विरोधसभा गर्ने यसअघिको कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । सोमबार नै संघीय संसद्मा रहेका सबै राजनीतिक दलका संसदीय दलहरूमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।
प्रकाशित समय : १३:२६ बजे


















