गृहपृष्ठ एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको छ : अध्यक्ष ओली
एमाले एक्लै निर्वाचनमा लड्न सक्षम रहेको छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले आज यहाँ आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैं निर्वाचनमा लड्न सक्षम रहेको बताएका हुन् ।
'हामी आफैं निर्वाचन लड्न सक्षम छौं । आफैं जित्छ,' उनले भने । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई देख्न नसक्नेहरु फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए । 'सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौं भनेका छन्,' उनले भने, 'तर, नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौं । अरु दल कांग्रेसको औंला नसमातेर हिँड्न सक्दैनन् ।' सो अवसरमा अध्यक्ष ओलीले नेपाल सम्वत्को क्यालेण्डरसमेत सार्वजनिक गरे ।
काठमाडौं महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पुर्याइरहेको बताए । उनले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दामूनि बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिए । महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताए ।
प्रकाशित समय : २२:४९ बजे



















