global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ तिहार सकिएसँगे छठको तयारी

तिहार सकिएसँगे छठको तयारी

तिहार सकिएसँगे छठको तयारी

नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले राससलाई जानकारी दिए ।

तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । छठ पर्वको तयारीस्वरूप कात्तिक २० गते शनिबारको वाग्मती सफाइ पनि यसै क्षेत्रमा गरिएको थियो । एउटा छठ घाट पूजाका लागि एक हजार १०० रूपैयाँ शुल्क समितिले लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको उनले सुनाए । गत वर्ष कोरोनाका कारण छठ पूजा स्थगित गरिएको थियो । विसं २०७६ मा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई ६ लाख रूपैयाँ सहयोग गरेको थियो । यस वर्ष पनि सहयोग गर्ने वचन प्राप्त भएको समितिले जनाएको छ ।

यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सक्खर र घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन्छन् । यस वर्ष कात्तिक २४ गते बुधबार यस पर्वको मुख्य दिन परेको छ । भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ । 

प्रकाशित समय : २३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु