गृहपृष्ठ नगरपालिकाद्वारा छात्रवृत्ति वितरण
नगरपालिकाद्वारा छात्रवृत्ति वितरण
बागलुङ नगरपालिकाले प्राविधि शिक्षा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई मासिक रूपमा छात्रावृत्ति उपलबध गराउन थालेको छ । यसका लागि नगरपालिकाले ‘गोविन्द अधिकारी व्यावसायिक छात्रावृत्ति’ कार्यक्रम ल्याएको छ ।
तीन वर्षअघिदेखि नै नीति तथा कार्यक्रममा राखेको उक्त कार्यक्रम कार्यविधि बनाइएको थियो । गत वर्षदेखि वितरण गर्ने भने पनि कोरोनाका कारण यस वर्षदेखि सामुदायिक विद्यालय तथा प्राविधिक धारमा अध्ययनरत २७ विद्यार्थीलाई मासिक छात्रावृत्ति वितरण गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । कक्षा ९ र १० मा अध्ययन गर्नेलाई मासिक एक हजार र कक्षा ११, १२ र डिप्लोमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक दुई हजारका दरले रकम उपलब्ध गराइने छ । आगामी दिनमा विद्यार्थीको बैंक खातामै चौमासिक रूपमा छात्रवृत्ति भुक्तानी गरिने नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘पूर्व सांसद स्व. गोविन्द अधिकारीको सम्मानमा’ नगरपालिकाले जेहेन्दर विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने अभिप्रायले तीन वर्षअघिदेखि कार्यक्रम ल्याएको हो ।
'यसले यस वर्षबाट सार्थकता पाएको छ, कार्यविधि बनाउन समय लाग्यो र लगत्तै कोरोना कहर भएकाले ढिलै भए पनि छात्रावृत्ति वितरण गर्न थालेका छौँ,' उनले भने 'प्लस टु पास गर्ने विद्यार्थी छात्रवृत्तिको सूचीबाट घट्ने र कक्षा ८ पास गरेका विद्यार्थी कार्यविधिअनुसार छनोटमा पर्नेछन्, संख्यात्मक रूपमा आगमी वर्ष विद्यार्थीको संख्या बढ्दै जाने छ ।' छात्रवृत्ति कार्यक्रमबाट भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ । छात्रावृत्ति पाउँदा आफूलाई अध्ययनमा धेरै सहयोग पुग्ने धवलागिरि प्राविधक प्रतिष्ठानमा अध्ययनरत संरचना विकले जानकारी दिए ।
मंगलबार संघीय सांसद मनकुमारी केसी, नगरप्रमुख पौडेल तथा स्व. अधिकारीकी श्रीमती भीमा अधिकारीलगायतले २७ विद्यार्थीलाई छात्रावृत्ति वितरण गरेका थिए ।
प्रकाशित समय : १५:०६ बजे




















