Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

अनलाइन परीक्षा : काेही समर्थक, काेही आन्दाेलित

सीता वली वीरेन्द्रनगर साउन १८, २०७८       

अनलाइन परीक्षा : काेही समर्थक, काेही आन्दाेलित

मध्यपश्चिम विश्वविद्यालयमा पनि राष्ट्रिय राजनीतिकै शैली मौलाएको छ । विद्यार्थीसमेत विभाजित बनेर आन्दोलन गरिरहेका छन् । केही विद्यार्थी संगठनहरुले परीक्षा अनलाइनमार्फत हुनुपर्ने माग राखेका छन् भने केहीले उक्त माग अस्वभाविक भएको बताउँछन् । विश्वविद्यालयमा मौलाएको यस्तो शैलीले परीक्षार्थीहरुमा अन्यौलता छाएको छ ।

यसअघि कार्यविधि निर्माण गरी अनलाइनमार्फत परीक्षा सञ्चालन गरेको विश्वविद्यालयले यस पटकदेखि भौतिक रुपमा परीक्षा गर्न तालिका सार्वजनिक गरेको थियो । अनलाइनमार्फत परीक्षा सञ्चालन गर्दा विद्यार्थीले चोरेको र एउटै विद्यार्थीले धेरै विद्यार्थीको उत्तर लेखी पठाएको उपकुलपतिलगायत विश्वविद्यालयको आरोप छ । अनलाइनमार्फत लिइएको परीक्षामा विद्यार्थीहरु शतप्रतिशत पाससमेत भएका थिए । विशेषगरी इन्जिनियरिङ संकायका विद्यार्थीहरु बढी पास भएका हुन् ।

अनलाइन परीक्षामा मनोमानी अंक प्रदान गरेको भन्दै विश्वविद्यालयले छानबिन समित गठन गरी समितिको प्रतिवेदनअनुसार विश्वविद्यालयका उपप्रध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरिएको थियो । परीक्षामा सामेल नै नभएका विद्यार्थीहरुलाई आर्थिक प्रलोभनमा परी यादवले अंक दिएको भन्दै विश्वविद्यालयले उनलाई बर्खास्त गरेको थियो ।

तर, विद्यार्थीहरुले भने अनलाइनमार्फत नै परीक्षा गर्नुपर्ने माग राख्दै आएका छन् । कोरोना जोखिममा भौतिक रुपमा परीक्षा दिन नसकिने केही विद्यार्थी संगठनहरुको तर्क छ । यद्यपि आन्दोलनमा भने हुल बाँधेरै उनीहरु सहभागी भएको देखिन्छ । विभिन्न माग राखेर विश्वविद्यालय प्रशासनविरुद्ध आन्दोलित बनेका विद्यार्थी संगठनहरूले विश्वविद्यालयको भौतिक सम्पत्तिमा समेत क्षति पुर्‍याएका छन् । गत बुधवार विद्यार्थीहरूको समूहले उपकुलपति प्राडा नन्दबहादुर सिंहको निवासमा तोडफोड गरे । उपकुलपति निवास, परीक्षा व्यवस्थापन कार्यालय र सवारी साधनहरूमा ढुंगा प्रहार गरेर झ्यालका सिसा फुटाइदिएको विश्वविद्यालयले जानकारी दिएको छ ।

सबै विद्यार्थी भने आन्दोलनमा छैनन् । केही समूह मात्र आन्दोलित बनेको हो । स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, अनेरास्ववियूू क्रान्तिकारी, अखिल छैठौं, अनेरास्ववियू (माधव नेपालनिकट विद्यार्थी) लगायतका संगठनहरू संयुक्त रूपमा आन्दोलित भएका छन् । तर अखिल क्रान्तिकारीको (विप्लवनिकट), अनेरास्ववियुको (केपी शर्मा ओलीनिकट) विद्यार्थीहरू अहिले आन्दोलनमा सहभागी छैनन् । उनीहरूले राखेका मागसँग विश्वविद्यालयद्वारा गठित वार्ता टोलीले सहमति गरिसकेको छ ।

विद्यार्थी संगठनहरु विद्यार्थीका वास्तविक मागभन्दा पनि राजनीतिक रुपमा प्रस्तुत भएको प्रष्ट देखिएको छ । विश्वविद्यालयमा भइरहेको तोडफोडको केही विद्यार्थी र प्राध्यापकहरूले नै विरोध जनाएका छन् । राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले बिहीबार संयुुक्त रूपमा विश्वविद्यालयको भौतिक सम्पत्तिमा क्षति पुर्‍याउने खालका गतिविधिको विरोध गरेका हुन् । अनेरास्ववियू लगायतका अन्य संगठन तथा विद्यार्थीहरूले उक्त घटनाको विरोध गरेका छन् ।

यस विषयमा अनेरास्ववियु मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष निकुञ्ज पाण्डेले तत्काल विद्यार्थीहरु भौतिक रुपमा परीक्षा दिन नसक्ने भएका कारण वैकल्पिक विद्यार्थी अपनाई परीक्षा लिइनुपर्ने माग राखिएको बताए । पहिले कार्यविधि निर्माण गरी जबर्जस्ती अनलाइन परीक्षा विश्वविद्यालयले लिएको र हाल लिन नमान्दा विवाद चर्किएको उनले तर्क गरे । पुस्तकालयबाट पुस्तक लिन नपाएका, एकदिन पनि कक्षा सञ्चालन नभएको अवस्थामा भौतिक रुपमा विद्यार्थी उपस्थिति भई परीक्षा दिन कसैले पनि नसक्ने अवस्था आएको उनले सुनाए । उनका अनुसार कतिपय विद्यार्थीहरु कोरोना संक्रमित भएको र सुर्खेतमा पनि संक्रमण दर बढ्दो भएकोले भौतिक उपस्थिति ठिक नभएको उनले धारणा राखे ।

यता अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठन मध्यपश्चिम विश्वविद्यालयकी सहसंयोजक ममता अधिकारीले अनलाइनमार्फत परीक्षामा मात्रै नभई १८ बुँदे मागसहित आन्दोलन गरेको बताइन् । उनले निषेधाज्ञा तथा लकडाउन अवधिको शुल्क मिनाह, स्ववियु निर्वाचन लगायतका मागहरु राखेको जानकारी दिइन् । विद्यार्थीको हितका लागि राखिएका मागहरु पुरा गर्नुपर्नेमा विश्वविद्यालय प्रशासन मौन रहेको उनले गुनासो गरिन् ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले गत वर्ष अनलाइनबाट परीक्षा लिँदा थुप्रै कमजोरी भएको भन्दै यसपालि कुनै पनि हालतमा अनलाइन परीक्षा हुन नदिने बताए । उनका अनुसार अनलाइन परीक्षामा बढी दुरूपयोग भएको पाइएकाले यस वर्ष भौतिक रूपमै उपस्थिति भएर परीक्षा लिने निर्णय गरिएको हो । ‘त्यसरी लिइएको परीक्षामा १०/१२ जना विद्यार्थीले एकै ठाउँमा बसेर परीक्षा दिएको भेटियो । हामीले कल्पना नगरेको रिजल्ट आयो,’ उनले भने, ‘यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्कने देखियो ।’ यो वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भौतिक रूपमै उपस्थित गराएर परीक्षा सञ्चालन गर्न लागिएको उनले बताए । ‘अनलाइनमार्फत परीक्षा सञ्चालन गर्दा गुणस्तर खस्किने भएकाले नै विगतको त्रुटि सच्याइएको हो,’ उनले भने । विश्वविद्यालयमा अनलाइन परीक्षाको मनिटरिङ गर्ने प्रविधि विकास नगरुञ्जेल यसरी परीक्षा लिनु उपयुक्त नदेखिएको उपकुलपति सिंहको भनाइ छ ।

यो मात्रै होइन मध्यपश्चिम विश्वविद्यालयमा सुरुदेखि नै यस्ता आन्दोलन र तोडफोडका गतिविधिहरु सञ्चालन हुँदै आएका छन् । विद्यार्थीहरु तथा उपप्रध्यापकहरुले पटक-पटक विभिन्न मागहरु राखी आन्दोलनका कार्यक्रमहरु गर्दै आएका हुन् । शैक्षिक धरोहरका रुपमा रहेको विश्वविद्यालयमा सधैँजसो झमेला हुँदा सुन्दर भविष्य खोज्दै आएका विद्यार्थीहरु निराश छन् ।

सम्बन्धित खबरहरु