गृहपृष्ठ ‘केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो’
‘केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो’
नेकपा एमालेका अध्यक्ष केपी ओली । फाइल फोटो
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुर्याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताएका छन् । तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको बताए ।
नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको उनले बताए । आफूले नेतृत्व गरेको सरकारका कारण आमजनताको सरकारप्रति आशा र भरोसा बढेको उनले बताए । 'केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो,' उनले भने ।
पूर्वप्रधानमन्त्री ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी र जनताका लागि निस्वार्थ रुपमा योगदान गरेको उल्लेख गरे । उनीहरूले देश र पार्टीका लागि व्यक्तिगत स्वार्थ र अहं त्यागेर लागेको उनले उल्लेख गरे । उनले भने, 'पुष्पलालले काँचो चना खाएर पनि पार्टी र देश बनाउन लाग्नुभएको थियो ।'
एमालेले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा अगुवाई गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । परराष्ट्र तथा औद्योगिक नीति, व्यापार, कृषि, सिँचाइ सबैमा एमालेले लिएको नीति नै राष्ट्रिय नीति बन्ने गरेको उनले बताए । सत्यका पक्षमा लाग्ने व्यक्तिलाई विगतदेखि नै विभिन्न पक्षले असहयोग गर्ने गरेको उनले बताए । 'ऋषिमुनिका तपस्या भाड्नेदेखि बुद्धलाई गलत देख्नेहरू नभएका होइनन् । त्यो कुरा अझैसम्म रहेको छ,' उनले भने ।
प्रकाशित समय : ०१:१९ बजे



















