गृहपृष्ठ स्वदेश फर्केकामध्ये आधा नेपाली कामदारमा फेरि विदेशिने चाह
स्वदेश फर्केकामध्ये आधा नेपाली कामदारमा फेरि विदेशिने चाह
कोभिड-१९ का कारण रोजगारी गुमेका, कटौतीमा परेका वा भुक्तानीबिनाको विदामा परेर स्वदेश फर्केका आधाभन्दा बढी नेपाली कामदारले फेरि विदेशिने बताएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)ले नेपाली आप्रवासी कामदारमा परेको कोभिड-१९ को असरसम्बन्धि एक सर्वेक्षणअनुसार विदेशबाट फर्केकामध्ये देशभित्र रोजगारीको अवसर कम भएको, गरिबी र कमजोर आयका कारण फेरि विदेश फर्कने बताएका हुन् ।
यो अध्ययनअनुसार लकडाउनपछि मात्र झन्डै ७ लाख नेपालीहरू विदेशका विभिन्न गन्तव्यबाट नेपाल फर्केका छन्, जसमध्ये झन्डै ७० हजार वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई सरकारको पहल वा समन्वयमा स्वदेश फिर्ता ल्याइएको हो ।
विदेशका विभिन्न श्रम गन्तव्यमा रोजगारी कटौतीमा परेर, बेतलबी विदामा पठाइएर, भिसा र करार अवधि सकिएको लगायतका कारणले झन्डै २ लाख नेपालीहरू स्वदेश फर्कने अवस्थामा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार कोभिड-१९ सँगैको लकडाउन र विश्वव्यापी यात्रा प्रतिबन्धहरूका कारण श्रम स्वीकृति लिइसकेका, पूर्वश्रम स्वीकृति भएका, भिसा आइसकेका, टिकट लिइसकेका सहित गरी ३ लाख २८ हजार ८८१ जना नेपाली वैदेशिक रोजगारीमा जान पाएनन् ।
कोभिडका कारण विदेशबाट फर्केकामध्ये सबैभन्दा बढी (७१ प्रतिशत) दक्षिण कोरियाबाट फर्ककाहरूले पुनः काममा फर्केर जाने बताएका छन् भने भारतबाट फर्केकामध्ये ५४ प्रतिशतले, कुबेतबाट फर्केकामध्ये ४७ प्रतिशतले, माल्दिभ्सबाट फर्केकामध्ये ४२ प्रतिशतले र जापानबाट फर्केकामध्ये ४१ प्रतिशतले फेरि विदेश फर्कने बताए ।
मुख्य श्रम गन्तव्यहरूमध्ये कतारबाट फर्केका ३५ प्रतिशत, साउदी अरबबाट फर्केका ३४ प्रतिशत, मलेसियाबाट फर्केका २० प्रतिशतले मात्र फेरि विदेश फर्कने बताएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
हाल वैदेशिक रोजगारीमा रहेकामध्ये सेवा क्षेत्रमा कार्यरत ४४ प्रतिशतको, घरेलु काममा कार्यरत झन्डै ४२ प्रतिशतको र उत्पादनमूलक क्षेत्रमा कार्यरत झन्डै ३१ प्रतिशत नेपालीले आफ्नो रोजगारी संकटमा रहेको बताएका छन् । उनीहरूले नियमित पारिश्रमिक नपाएका कारण रोजगारी संकटमा परेको हो ।
नियमित पारिश्रमिक नपाइ रोजगारी असुरक्षा रहेको बताउनेहरूमा कुबेत र संयुक्त अरब इमिरेट्स (यूएई)का कार्यरत नेपाली सबैभन्दा बढी (करिब ४५ प्रतिशत) छन् भने मलेसियामा कार्यतमध्ये झन्डै ४० प्रतिशत, साउदी अरबमा कार्यत २२ प्रतिशत र भारतमा कार्यरत करिब २९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
कोभिड-१९ का प्रायः सबैजसो (करिब ९८ प्रतिशत) आप्रवासी नेपाली कामदारहरू प्रभावित भएको भन्दै प्रतिवेदनमा वैदेशिक रोजगारीमा रहेकामध्ये होटल, रेष्टुँरा, पर्यटन लगायतका सेवा क्षेत्रमा रहेका नेपालीहरू सबैभन्दा प्रभावित भएको उल्लेख छ ।
अहिले वैदेशिक रोजगारीमा रहेकामध्ये एक तिहाइभन्दा बढी नेपालीको भिसा र सेवाको करार सकिएकाले उनीहरू संकटमा रहेको प्रतिवेदनले खुलासा गरेको छ । भिसा र करार सकिएका नेपालीहरूको ठूलो संख्या यूएई, कतार र मलेसियामा छ ।
हाल वैदेशिक रोजगारीमा रहेकामध्ये २१ प्रतिशतले आर्थिक अभाव झेलिरहेको, ७ प्रतिशतले उच्च रक्तचाप, अवसाद (डिप्रेसन)जस्ता स्वास्थ्य समस्या झेलिरहेको र ६ प्रतिशतले ‘डर’ अनुभूति गरिरहेको बताएका छन् ।
आईओएएमका लागि नेपाल डेभपलपमेन्ट स्टडिज (एनआईडीएस)ले वैदेशिक रोजगारीबाट फर्केका, वैदेशिक रोजगारीमा रहेका र जान तयारीमा रहेका करिब ३ हजार व्यक्तिसँग फोन अन्तर्वार्ता गरी यो प्रतिवेदन तयार पारिएको जनाइएको छ । प्रतिवेदनअनुसार एक तिहाइभन्दा बढी (३२.४ प्रतिशत) नेपालीहरू गरिबी कारण र त्यसपछि करिब एक तिहाइ (२७.२ प्रतिशत) नेपालीहरू बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
यसैगरी, करिब साढे ११ प्रतिशत ऋण तिर्नका लागि, १७ प्रतिशत जीवनयापन सुधार गर्नका लागि, ११.२ प्रतिशत आर्थिक स्थितिका सुधारका लागि र बाँकी परिवार, समुदायका दबाबले वैदेशिक रोजगारीमा जाने गरेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार भारतको रोजगारीमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरू बढी जाने गरेको पाइएको छ ।
विदेशबाट फर्केकामध्ये करिब ४० प्रतिशतले आफ्नै व्यवसाय गर्ने इच्छा व्यक्त गरेका छन् भने करिब ३० प्रतिशतले परम्परागत खेतीपाती वा आधुनिक/व्यावसायिक कृषिमा संलग्न हुने इच्छा व्यक्त गरेका छन् ।
वैदेशिक रोजगारीबाट फर्केका र जान चाहने झन्डै ५५ प्रतिशतले सरकारबाट सहुलियतपूर्ण ऋण, बीउ पुँजी, अनुदानजस्ता वित्तीय सहयोगको अपेक्षा गरेका छन् भने ३४ प्रतिशतले उचित वातावरण बनाइ दिनु पर्ने तथा करिब ९ प्रतिशतले व्यवसाय र उद्यमशीलताका लागि सहयोग हुनुपर्ने बताएका छन् ।
प्रकाशित समय : २३:४० बजे



















