nmb bank

गृहपृष्ठ कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति

कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति

कूटनीतिक राहदानी दुरुपयोग रोक्न कडाइ गर्ने दलहरूको सहमति

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सबै दलका प्रमुख सचेतक, सचेतक तथा प्रतिनिधिबीच आज भएको छलफलले कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्ने निर्णय गरेको छ ।

साथै छलफलले कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगमा तत्कालका लागि विद्यमान कानुन कडाइका साथ पालना गर्ने र दीर्घकालीन रूपमा आवश्यक संशोधनतर्फ अघि बढ्ने निष्कर्ष निकालेको छ ।

सभामुख अर्यालले विगतमा सांसदहरूबाट कूटनीतिक राहदानीको दुरुपयोग भएको सन्दर्भ कोट्याउँदै कूटनीतिक राहदानीको दुरुपयोग रोक्न कडाइ गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले हालको कानुनी व्यवस्थाअनुसार नै राहदानी प्रयोग गर्नुपर्ने बताए । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले सांसदहरूलाई सुविधा मात्र नभई क्षमता अभिवृद्धिमा पनि ध्यान दिनुपर्ने धारणा राखे।

नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले राहदानी दुरुपयोगका कारण देश बदनाम भएको भन्दै यसको ऐतिहासिक पृष्ठभूमि र नीतिगत आधारबारे पुनरावलोकन आवश्यक भएको बताए । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले कूटनीतिक राहदानीको प्रयोगमा कडाइ गर्नुपर्ने र विशेषगरी विभिन्न उच्चस्तरीय प्रतिनिधिमण्डलमा संलग्न व्यक्तिहरूमार्फत हुने दुरुपयोग रोक्नुपर्ने बताए ।

अन्य दलका प्रतिनिधिहरूले पनि पार्टीभित्र थप छलफल, परामर्श तथा अन्तरराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र दीर्घकालीन निष्कर्षमा पुग्नुपर्ने बताउनुभएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सरकारी काममा कूटनीतिक र निजी भ्रमणमा साधारण राहदानी प्रयोग गर्न कुनै जटिलता नभएको बताए ।

परराष्ट्र सचिव अमृत राईले राहदानी ऐन, २०७६ र नियमावली २०७७ अनुसार सरकारी वा विशेष कामका लागि मात्र कूटनीतिक राहदानी जारी गरिने स्पष्ट पार्दै प्रवेशाज्ञा प्राप्तिमा देखिने व्यावहारिक समस्या समाधानका उपाय खोज्नुपर्ने बताए ।

प्रकाशित समय : १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु