थप ३,०३२ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १९,३८२ पुग्यो
वि.सं.२०७८ वैशाख १२ आइतवार २२:४२
shares

नेपालमा पछिल्लो २४ घण्टाकाे अवधिमा थप ३ हजार ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साे अवधिभित्र नेपालमा ९ हजार २९२ नमुनाको पीसीआर परीक्षण र ७८६ जनाको एन्टिजेन परीक्षण भएको थियो । त्यसमध्ये पीसीआर विधिबाट ३ हजार ३२ जना र एन्टिजेन विधिबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या तीन लाख ११९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये १९ हजार ३८२ जना आइसाेलेशन र ६९ जना क्वारेन्टिनमा रहेका छन् । देशभर २५२ जनाको आइसीयू तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आइतबार काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँका १ हजार १ सय ३२, ललितपुरका २७० तथा भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाे तथ्यांकअनुसार नेपालमा २ लाख ७७ हजार ५७३ जनाले काेराेना जितिसकेका छन् । गत २४ घण्टाभित्र नेपालका २८ जनाकाे काेराेनाका कारण ज्यान गएकाे छ । हालसम्म नेपालमा ३ हजार १ सय ६४ जनाले काेराेनाबाट ज्यान गुमाइसकेका छन् ।

























