गृहपृष्ठ म्यानमारमा भइरहेको सैनिक दमनप्रति नेपाली कांग्रेसको आपत्ति
म्यानमारमा भइरहेको सैनिक दमनप्रति नेपाली कांग्रेसको आपत्ति
नेपाली कांग्रेसले म्यानमारमा सैनिक कदमको विरोधमा भइरहेको आन्दोलनमा दमन भएकामा आपत्ति जनाएको छ । आइतबार प्रवक्ता विश्वकप्रकाश शर्माले विज्ञप्ति जारी गरी म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको भन्दै यसलाई अमानवीय र निन्दनीय भनेको छ ।
म्यानमारमा शनिबार प्रदर्शनकारीमाथि सैनिक दमन हुँदा कम्तीमा ११४ जना मारिएका थिए । कांग्रेसले जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकीलगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाव बढाउन आवश्यक देखिएको बताएको छ । ‘सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ’ प्रवक्ता शर्माले भनेका छन् ।
'दमनका विरुद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा एक्यवद्ध हुन नेपाली कांग्रेस सबै दल, संघसंस्था र सरकार समेतलाई अपील गर्दछ,' विज्ञप्तिमा भनिएकाे छ ।
प्रकाशित समय : २२:१३ बजे


















