Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

ओली हठ, एमाले र राष्ट्रिय राजनीति

डीआर आचार्य काठमाडौं चैत ७, २०७७       

ओली हठ, एमाले र राष्ट्रिय राजनीति

असाध्यै धेरै आनन्द के गर्दा आउँछ, तिमीलाई थाहा छ ?’ २०५७ सालताका जस्तो लाग्छ, मलाई एक जना छिमेकी दाइले सोधेको प्रश्न हो यो ।

कुर्करे बैँस चढ्दै गर्दाको यो प्रश्नको उत्तर मैले अर्कै सोचेँ र हाँसेँ ।

उनले छक्क परेर सोधे, ‘ल किन हाँसेको ?’

मैले भनेँ, ‘तपाईं नै भन्नु ।’

उनले सहजै भने, ‘कहिलेकाहीँ पिसाबले च्यापेर साह्रै आपत पर्‍यो भने थाहा पाउँछौ ।’

मैले झल्झली सम्झिएँ ।

आईए पहिलो वर्षमा अध्ययनरत थिएँ । एक दिन काम परेर बिर्तामोड गएको थिएँ । चैतको महिना । गर्मी उत्पातै थियो । काम सकिएपछि एक लिटरजति पानी पिएँ । त्यसमाथि उखुको एक गिलास रस थपेँ र पश्चिम बस स्ट्यान्डमा रोकिराखेको बस चढेँ ।

दिउँसोको २ बजेको हुँदो हो । मान्छे तानातान गर्दागर्दै त्यो लोकल बसले १५-२० मिनेट बिताइदियो । मलाई पिसाब लाग्यो । अब झरौँ भने बस गइजाला । फेरि नजिकै सार्वजनिक शौचालय थिएन । भए पनि आक्कलझुक्कल बिर्तामोड पुग्ने मलाई थाहा थिएन ।

SS होस् ! ११ किलोमिटर त हो पुगिहालिन्छ नि !’

बल्लतल्ल बस गुड्यो । पिसाबले च्याप्दै लग्यो । बस बाहिरबाट हेर्दा राम्रै देखिए खोटेरो परेछ । भ्याटभ्याटभ्याट गर्दै गुड्न थाल्यो । एकातिर थोत्रो बस, अर्कोतिर मनपरी रोक्ने रोगको सिकार बने म । बिर्तामोडदेखि सुरुंगाको बीचमा जम्मा तीनवटा ठूला स्टेसन छन् । तर, बस पाइलैपिच्छे रोक्न थाल्यो ।

बस चारपाने नआइपुग्दै म पीडाले छटपटिन थालेँ । छेउमा बसेकी महिलाले अफ्ठ्यारो मानिरहेझैँ लाग्यो । पिसाबको पीडाले म आहत भएको उनलाई थाहा हुने कुरा भएन तर पिसाब थेग्न प्रयास गर्दागर्दै पसिनाले निथ्रुक्कै भइसकेको थिएँ ।

बस बिरिङ पुलमाथि गुड्न थाल्यो । बिरिङका १६–१७ वटा पिल्लर मेरा लागि यमराज बनेर आए । पुलका पिल्लरमाथिको जोड्तीमा बस उफ्रिँदा मेरो सातो उठ्थ्यो । कसरी ती पिल्लर कटाएँ, अहिले सम्झिँदा पनि जिरिंग हुन्छ ।

बस दुर्गापुर पुग्यो । अब त सुरुंगा धेरै छैन भनेर सहचालकको नजिक गएँ । ढोकाको छेउमा उभिएँ । भाडा झिकेर दिएँ ।

मेरो बिग्रिएको अनुहार देखेर सहचालकले सोध्यो, ‘सञ्चो छैन कि क्याहो ?’

बोल्दा पनि पिसाब चिप्लेला भइसकेको थियो । मैले टाउको र हात दुवैको इशारालो ‘ठिकै छ’ भनेँ । उसले पत्याएन । बस सुरुंगा पुल आइपुग्न लागेको परैबाट देखेँ । पुलको बीचको एउटा पिल्लर र सडकसँग जोडिएको दुवै भाग भत्किएर बिजोग भएको थियो । नभन्दै त्यहीँ पुगेपछि बस मज्जाले उफ्रियो । थोरै पिसाब चिप्लिहाल्यो । पीडा थपियो ।

बस सुरुंगा चोकमा रोक्यो । म हतारहतार एन्जल टाकिजतिर गएँ । भुइँभरी पिसाबै–पिसाब छताछुल्ल भएको शौचालयमा पिसाब नटेकियोस् भनेर कतै कतै इँटा राखिएको थियो । बढो मुस्किलले इँटामा टेकेर उभिएँ र भित्तो समाएर पिसाब फेर्न थालेँ ।

यति आनन्द आयो कि त्यसलाई शब्दमा उतार्न सक्दिन । म शिथिल भएँ, गलेँ र सुस्त बाहिर निस्किएर सिनेमा हलको पेटीमा बसेँ ।

***

यतिबेला सम्झिरा’छु । पाँच वर्ष सरकार चलाउने र समृद्धिको रेखा कोर्ने भन्दै गठबन्धन गरेर मतदातासामु पुगेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले झन्डै दुई तिहाइ बहुमत ल्याए । नागरिकमा बेग्लै उत्साह छायो । दुवै पार्टी उत्साहित भए । २०७५ जेठ ३ गते एकीकरण गरे । राष्ट्रिय राजनीति फरक ढंगले अघि बढ्न थाल्यो ।

तर, पृष्ठभूमिमा नाङ्गो आँखाले देखिएभन्दा फरक ढंगका दृश्यहरु नाच्न थाले । केपी ओलीमा व्यक्तिवादी चरित्र र अहंकार हावी हुँदै गयो । पार्टीका बैठक नबोलाउने र पार्टीका निर्णय नमान्ने खालका स्वेच्छाचारिता झाङ्गिँदै गयो । पार्टीका सबै शीर्ष नेताहरुले ओलीको कार्यशैलीमाथि प्रश्न उठाइरहँदा सरकार पार्टीका मार्गनिर्देशक सिद्धान्तभन्दा धेरै पर मनमौजी ढंगले चल्न थाल्यो ।

सबैतिरबाट औँला ठडिन थालेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत प्रभावमा पारेर ओलीले हठात् असंवैधानिक ढंगले संसद विघटन गरिदिए । संसद विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन भए । ओलीले सार्वभौम संसदको अवसानमात्रै गर्दै थिएनन्, संविधानकै घाँटी निमोठ्दै थिए । संविधानवाद ज्युँदो रहेको प्रमाण दिनेगरी जब सर्वोच्चले फागुन ११ गते संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय बदर गरिदियो, देशले फरक राजनीतिको कोर्स लियो ।

ओलीमात्र होइन, ओली पक्षीय सबै नेता र कार्यकर्तासमेत चिसिए । सर्वोच्चको फैसलाले ओली खेमालाई ‘मेरो सुरुंगा खोलामाथिको अवस्था’मा पुर्‍याइदियो । सामाजिक सञ्जाल सुनसान भए । फेसबुक र ट्विटरमा सन्नाटा छायो । सबै विक्षिप्त देखिन्थे । रस निचोरेको कागती जस्ता अनुहारसहितका मन्दिर धाएका एक–दुई फोटाबाहेक अरु कुनै टिप्पणी सामाजिक सञ्चालमा भेटिएनन् ।

ओली पक्षीय नेता–कार्यकर्ताका तेह्र दिन त्यसैगरी पार भए, जसरी मैले ११ किलोमिटर पार गरेको थिएँ । जब अप्रत्यासित ढंगले एक कदम अघि बढेर सर्वोच्च अदालतले रिट निवेदकले माग गरेभन्दा बढी फैसला गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई फरक–फरक दल बनाइदियो, ओली पक्षीय नेता र कार्यकर्ताले चरम आनन्दको सास फेरे ।

उनीहरुले कति आनन्त प्राप्त गरे, त्यो शब्दमा उतार्न सकिन्न तर सामाजिक सञ्जालमा पोखिएका हर्षाश्रुले त्यसलाई प्रतिविम्बित गरिरहेका थिए । देशभर ओलीपक्षीय कार्यकर्ताहरु जयजयकारमा उत्रिए ।

***

त्यति ठूलो राजनीतिक हार हुँदा पनि लीमा सत्ता लिप्सा कायमै रह्यो । राष्ट्रिय राजनीतिले अर्कै मोड लियो । ओलीले मनमौजी गर्न छाडेनन् । नेकपामा हुँदा आफूलाई अफ्ठ्यारोमा पारेका नेताहरुलाई ताकिताकी प्रहार गर्न थाले । ‘राज–कार्यकर्ता’ले ताली पिटिरहे । सत्ता र शक्तिको आडमा आफ्नै दलका वरिष्ठ नेताहरुको अवमूल्यन हुन थाल्यो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, योगेश भट्टराई, गोकर्ण बिष्ट, रामकुमारी झाँक्रीहरु सामाजिक सञ्जालमा ओलीपक्षीय कार्यकर्तामार्फत दुत्कारिए । गाली बेइज्जतीको भारी अद्यापी बोकिरहेका छन् । ओली पक्षका नेता–कार्यकर्तालाई सर्वोच्चले नेकपा एमाले होइन, ओली क्बल ब्युँताइदिएको भान परेको छ, पारिएको छ ।

अहिले ओली एमालेमात्र होइन, अन्य पार्टीसमेत ‘फुटाउ र राज गर’को राजनीति गरिरहेका छन् । संसद विघटन गरेर मैदानमा उत्रिएका बेला प्रतिनिधि सभा पुनः स्थापना भए सदनमा सत्ताको फोहोरी खेल सुरु हुने भाषण गर्दै हिँडेका ओली सत्ता टिकाउन त्यही फोहोरमा आहाल बसिरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको एकता बचाउन उनले सानोभन्दा सानो त्याग गर्न आवश्यक ठानेनन् । आफ्नो तर्फबाट भएका गल्ती स्वीकार्दै पार्टीको अर्को कुनै नेतालाई संसदीय दलको नेता र प्रधानमन्त्री बनाउने चौडा छाती देखाएको भए न अहिले कम्युनिस्ट एकता भताभुंग हुने थियो न नेपालको राजनीति अहिलेको जस्तो जटिल अवस्थामा पुग्थ्यो न त विकास र समृद्धिको जनचाहनामाथि तुषारापात हुन्थ्यो । यतिखेर ओलीको बालहठ, तानाशाही शैली र हैकमवादको सिकार स्वयं नेकपा एमाले, वाम गठबन्धन र देश बनिरहेको छ ।

सम्बन्धित खबरहरु