global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ फागुनदेखि विराटनगर जुट मिलले उत्पादन थाल्ने

फागुनदेखि विराटनगर जुट मिलले उत्पादन थाल्ने

फागुनदेखि विराटनगर जुट मिलले उत्पादन थाल्ने

विराटनगर जुट मिलले फागुनदेखि बाेरा उत्पादन थाल्ने भएकाे छ । मिल डेढ महिना अघि पुन: सञ्चालनमा अाएकाे थियाे । मिलमा ४५ वटा मेसिनमध्ये दुईवटा मात्र सञ्चालनमा छन् ।

हालसम्म जुट प्रशोधनबाट सुतली बेर्ने प्रक्रिया ‘कोप’ सम्म मात्र आइपुगेको छ । ‘अल रोल’ नामक उपकरणबाट बिमा तयारी भएर लुम मेसिनमा पुगेपछि अन्तिम रूप दिएर कटिङ गर्ने बेलासम्म पुगेर बोरा निस्कन अझै दुई महिना लाग्ने प्राविधिक बताउँछन् । फागुन तेस्रो सातासम्ममा उत्पादन आउन सक्ने उनीहरूले जनाए । मिलले उत्पादन गरेका बोरा बजारमा पुग्न अझै केही समय लाग्ने भएको छ ।

मंसिर १० बाट मिल सञ्चालन गरिएको हो । हाल ४० मजदुरले काम गरिरहेका छन् । मिलले हालसम्म भारतबाट ७५ टन कच्चा जुट खरिद गरी ल्याएको छ । प्रशासन अधिकृत तारानाथ तिमल्सिनाले मिल चल्न सरकारको सहयोग चाहिने बताए । ‘हामीले चल्न सक्छ भन्ने देखाएका छौं,’ उनले भने, ‘यसलाई सरकारले गम्भीरतापूर्वक लिएर भरथेग गर्नुपर्छ ।’

०७१ भदौ १९ बाट ठेक्कामा लिएको भारतीय कम्पनीले चलाउन नसकेर मिल बन्द गरेको हो । रानी बजारका ७४ वर्षीया श्रीप्रसाद साहले स्वार्थ नराखी यो मिललाई सञ्चालन गर्नुपर्ने बताए । ‘यो मिल चलाउन सफा नियत भएका व्यक्ति हुनुपर्छ,’ उनले भने, ‘सम्पत्ति देखेर मात्रै आउनेले चलाउन सक्दैनन् ।’ जुन बेलासम्म यो मिल चलेको थियो, त्यसबेला गुल्जार रानी बजार बन्द भएसँगै उजाड भएको छ ।

जुट मिल्सका प्रबन्धक नीलहरि काफ्लेका अनुसार जुटको उत्पादनका लागि आवश्यक ब्याचिङ आयल अभावमा समस्या भएको छ । ‘उक्त आयल भारतबाट ल्याउन कोटा लिनुपर्ने भएकाले त्यसको प्रक्रियामा छौं,’ उनले भने ।

हाल ७/८ टन दैनिक उत्पादन क्षमतामा सञ्चालन भइरहेको मिललाई फागुनदेखि दैनिक २० टन उत्पादनको तयारीमा लागेको उनले जनाए । ‘सेयर सदस्यको ऋण सहयोगमा मिल सञ्चालन गरिएको छ,’ उनले भने, ‘मिल सञ्चालनमा पुँजीको समेत अभाव रहेकाले त्यसको व्यव्स्थापनमा लागेका छौं ।’ हाल ३ करोडको लागतमा सञ्चालन भएको मिल्समा थप २ करोड रुपैयाँको व्यवस्थापन गरेर पूर्ण रूपमा सञ्चालन गर्ने काफ्लेले बताए ।

प्रकाशित समय : १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु