global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने

नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने

नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने

काठमाडौँ – चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ निर्माण गरिने भएको छ ।

कर्णाली चिसापानीमा निर्माण गरिएभन्दा अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो । चिनियाँ प्राविधिकको सहयोगमा सडक विभाग मातहतको पुल महाखाशाले उक्त पुल निर्माणको प्रारम्भिक नमूना तयार पारिरहेको छ ।

उक्त पुल डबल लेनमा निर्माण गरिनेछ । उक्त पुल ५०० मिटर लामो हुनेछ । प्रतिमिटर रु २० लाख लागतमा रु एक अर्ब रकममा उक्त पुल निर्माणमा खर्च लाग्ने अनुमान गरिएको छ । नारायणी नदीमा निर्माण गरिने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बन्नेछ ।

हाल सञ्चालनमा रहेको पुलको ठीक तल्लोपट्टी निर्माण गर्नुपर्ने अवस्था आए दुई लेनको र देवघाट आसपासमा निर्माण गर्नुपर्ने अवस्था आए चार लेनको निर्माण गर्ने तयारीमा विभाग रहेको उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।

त्यस्तो पुललाई पानीको प्रवाहले केही असर नगर्ने प्राविधिक बुझाइ छ । वातावरणीय दृष्टिकोणले पनि जलचरको संरक्षण हुनेछ । सरकारले चितवन–नवलपरासी जोड्ने सडक र पुललाई शहरी पूर्वाधारमा राखेको खण्डमा पूर्व–पश्चिम राजमार्गलाई देवघाट आसपासबाट मोड्ने तयारीमा रहेको छ । त्यस्तो अवस्था आए पूर्व–पश्चिम राजमार्ग परिवर्तन हुने र पुल चार लेनको निर्माण हुनेछ ।

उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो । “पुल मानव सभ्यतासँग जोडिएकाले पनि आकर्षक बनाउन खोजिएको हो । पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धिसँग पुल जोडिएको हुन्छ । हामीले त्यसैलाई ध्यान दिन खोजेका हौँ” उपमहानिर्देशक थापाले भने ।

नेपालको पर्यटन प्रवद्र्धनमा कर्णाली पुलले महत्वपूर्ण योगदान गरे जस्तैः चितवन नवलपरासी जोड्ने पुललाई पनि त्यस्तै खालको चित्ताकर्षक बनाइनेछ । चिनियाँ प्राविधिकको सहयोगमा उक्त पुल निर्माण गरिनेछ । विभागले वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी गरेको सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले जानकारी दिए । शाक्यका अनुसार हालसम्मकै नयाँ प्रविधिको प्रयोग गरेर पुलको डिजाइन गरिने र नेपाली प्राविधिकलाई सक्षम र सबल बनाउने लक्ष्य राखिएको छ ।

विभागले चिनियाँ उच्च प्राविधिकलाई निम्त्याएर सीपसमेत सिक्ने र नेपाली प्राविधिकलाई सक्षम बनाउने लक्ष्यसमेत राखिएको सिडिइ शाक्यले बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पनि सो पुल निर्माणका सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेको छ । मादी र सेती नदीमाथि पनि त्यस्तै सिग्नेचर ब्रिज निर्माण गरिने भएको छ । त्यसको समेत डिजाइन भइसकेको सिडिइ शाक्यले जानकारी दिए ।

कर्णाली नदीमाथि निर्माण गरिएको पुलको प्रविधि तथा ज्ञानको विषयमा नेपाली प्राविधिक जानकार नभएको र केही विषयसमेत थाहा नपाउने अवस्था रहेकाले चितवन–नवलपरासी जोड्ने पुल निर्माणको प्रविधि नेपाली प्राविधिकले समेत सिक्ने अवसर प्रदान गर्न लागिएको हो । कर्णाली पुल नेपालको लामो पुलमध्ये एक हो । सो पुलको निर्माण सन् १९९३ मा भएको हो । सो पुलमा दैनिक दुई हजार ५०० आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने गरेका छन् ।

विशेषगरी भारतीय पर्यटक सो पुल हेर्न आउने गरेका छन् । कर्णाली पुलबाट दैनिक एक हजार ५०० देखि दुई हजार सवारी साधन सञ्चालनमा रहेका छन् । विभागले सडक संरचनाको आधारमा पुललाई पनि व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउने रणनीति अख्तियार गरेको छ । सिडिइ शाक्यले आगामी दिनमा निर्माण गरिने पुल चार लेनको बनाइनेछ ।

प्रकाशित समय : १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु