global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ दुर्गममा विद्यार्थी भर्ना शून्य, अझै विद्यालयमा हाजिर भएनन् शिक्षक

दुर्गममा विद्यार्थी भर्ना शून्य, अझै विद्यालयमा हाजिर भएनन् शिक्षक

दुर्गममा विद्यार्थी भर्ना शून्य, अझै विद्यालयमा हाजिर भएनन् शिक्षक

बाजुरा । देशैभरि अहिले विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश नं ७ अन्तरगत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश विद्यालयमा भने भर्ना संख्या प्रायः शून्य छ । विद्यार्थी भर्ना अभियान शून्य हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दरीमा रहेको गंगा आधारभूत विद्यालयमा हालसम्म पनि एक जना विद्यार्थी भर्ना भएका छैनन् ।
गत शैक्षिक सत्रमा ११० विद्यार्थी रहेको उक्त विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना नहुनुको कारण कुनै पनि शिक्षक विद्यालयमा नहुनु अभिभावकको गुनासो छ । गाउँमा विद्यार्थी भर्ना अभियान चलिरहे पनि प्रधानाध्यापक नेत्रप्रसाद ज्ञवाली आफ्नी छोरी भर्ना गराउन काठमाडौँ गएका र अन्य शिक्षक पनि वाार्षिक परीक्षा सञ्चालन गरेदेखि विद्यालयमा हाजिर हुन नआउँदा विद्यार्थीले भर्ना हुन नपाएको अभिभावकले बताएका छन् ।
स्वामीकार्तिक खापर गाउँपालिकाकै पुडेनीमा रहेको पुुगेली आधारभूत विद्यालयमा पनि विद्यार्थी भर्ना संख्या शून्य नै छ । कक्षा दुईसम्म सञ्चालन रहेको उक्त विद्यालयमा एक जना प्रधानाध्यापक नरजंग कार्की र कार्यालय सहयोग सहयोगी शीतल बुढा गरी दुई जना मात्र छन् । फयालगाउँको विन्दा शैनी आधारभूत विद्यालयमा पनि अहिलेसम्म जम्मा १४ जना विद्यार्थी भर्ना भएका छन् ।
विद्यालयले पाठ्यपुस्तकसमेत लिएका छैनन् भने विद्यार्थी भर्ना संख्या पनि निकै न्यून रहेको पाइएको छ । त्यस्तै रुपाली आधारभूत विद्यालयमा हालसम्म ८६ जना भर्ना भएको शिक्षक दुर्गबहादुर सिंहले बताएका छन् । १५० विद्यार्थी रहेको उक्त विद्यालयमा पनि भर्ना संख्या सन्तोषजनक भने देखिँदैन । उक्त विद्यालयका शिक्षक नभएको र पाठ्यपुस्तक पनि नलगिएको स्थानीय अभिभावकको गुनासो छ ।
नयाँ शैक्षिक सत्रको १० दिन बितिसक्दा पनि उक्त विद्यालयमा हालसम्म एक जना विद्यार्थी भर्ना नभएको र शिक्षक विद्यालयमा उपस्थित नभएको भेटिएपछि गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले यस्तो राष्ट्रिय महत्वपूर्ण अभियानमा सहभागी नहुने शिक्षकलाई तुरुन्त कारबाही गर्ने बताएका छन् । गाउँपालिकाले कक्षा सञ्चालनका लागि अनुमति लिएका तर शिक्षक नभएका कतिपय विद्यालयलाई एकीकृत गरेर लैजाने योजना रहेको अध्यक्ष शाहीले बताए ।
त्यसैगरी सोही गाउँपालिका–२ मा प्रायः विद्यालयमा अभिभावकले आफैँ पैसा उठाएर शिक्षकलाई तलब खुवाउँदै आइरहेका छन् । जिल्ला शिक्षा कार्यालयले विद्यालय खोल्न अनुमति दिने र शिक्षकको व्यवस्थापन नगर्ने परिपाटीले अहिले विद्यालयका शिक्षकलाई गाउँबाट रकम उठाएर तलब खुवाउनु पर्ने बाध्यता रहेको बताइएको छ ।
न अभिभावकलाई भार भइरहेको छ न्यूनतम तलबमा शिक्षकले पनि राम्रोसँग काम नगरी रहेको पाइएपछि गाउँपालिका अध्यक्षले विद्यालयलाई एकीकृत गर्दै लैजाने स्वामीकार्तिक गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीको भनाइ छ । विद्यालयको अनुगमनका क्रममा अध्यक्ष शाहीले विद्यालयमा हाजिर नभएका शिक्षकका फाइल गाउँपालिकामा ल्याई कारबाही गर्ने उनले जानकारी दिए ।

प्रकाशित समय : २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु