गृहपृष्ठ २६ वर्षपछि बलेवा विमानस्थल सञ्चालन
२६ वर्षपछि बलेवा विमानस्थल सञ्चालन

बागलुङ, १३ फागुन । झण्डै २६ वर्षपछि बागलुङको बलेवा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज अवतरण हुने भएको छ । बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल निर्माण काम अन्तिम चरणमा पुगेको भन्दै परिक्षणका लागि सोमबार विमान अवतरण हुने जनाइएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबार प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र, उपकरण जडानका लागि त्यहा पुग्नेछ ।
लामो समयसम्म बन्द रहेको विमानस्थल आउँदो चैत दोस्रो सातापछि भने नियमित उडान शुरु गर्ने गरी विमानस्थलको प्राविधिक र व्यवस्थापकीय कामलाई तीव्र पारिएको छ।
यसअघि गत पुसमा प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच चैतमा नियमित उडान शुरु गर्ने सहमति भएको थियो। सोही सहमतिपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनको आवश्यक तयारी अघि बढाएको थियो। प्राधिकरणका प्रबन्धक इन्दुराज अधिकारी र इञ्जिनियरद्वय ताराकान्त शाह र मीनराज ओझाको टोलीले विमानस्थलको प्राविधिक अध्ययन गरेको थियो।
प्राविधिक टोलीले दिएको सुझावअनुसार मर्मत, सुधार र पूर्वाधार तयारीको काम अन्तिम चरणमा पुगेको प्रमुख पौडेलको भनाइ छ। उडानलाई सहज बनाउन विमानस्थलको दक्षिण पूर्वमा रहेका सल्लाका रुख हटाउने काम भइरहेको छ। यस्तै, व्यवस्थित तारबार र सुरक्षा प्रबन्धको काम पनि भइरहेको जनाइएको छ। विमानस्थलको मर्मतसम्भार, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा भने प्राधिकरणले लिएको छ। विमानस्थलसम्म पुग्ने सडकको स्तरवृद्धिलगायत अन्य पूर्वाधार निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ।
बागलुङ सदरमुकामदेखि ८ किलोमिटरको दुरीमा रहेको विमानस्थलसम्म पुग्न तत्काललाई कालीगण्डकी करिडोरको कच्ची मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि २०४८ सालमा बन्द भएको थियो। बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक पहल गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन। धवलागिरि क्षेत्रको पर्यटनलगायत समग्र विकासका लागि बलेवा विमानस्थलले महत्वपूर्ण टेवा पु¥याउने ठानिएको छ।
प्रकाशित समय : १७:१२ बजे