गृहपृष्ठ बस्तीको बीचमा कारागार : बढ्दो सुरक्षा चुनौती

बस्तीको बीचमा कारागार : बढ्दो सुरक्षा चुनौती

बस्तीको बीचमा कारागार : बढ्दो सुरक्षा चुनौती


नीरज गौतम । बाँके । नेपालगन्जको मध्यभाग मानवबस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती र नागरिकको सुरक्षा चिन्ता अहिले बढ्दै गएको छ । कैदी, बन्दीको आचरण सुधारका लागि विक्रम संवत् २००० मा स्थापना गरिएको नेपालगन्जस्थित बाँके कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने सुरक्षा निकायका पदाधिकारी नै बताउँछन् । कारागार स्थापना हुँदा त्यस आसपास मानव बस्ती थिएन ।
नेपालगन्ज शहर विस्तार हुने क्रमसँगै कारागारको क्षेत्र बाहिर मानव बस्ती पनि बाक्लिँदै गयो । बस्ती बाक्लिँदै गएपछि कारागार अहिले नेपालगन्जको ठीक बीच भागमा परेको छ । कारागार मानव बस्तीको बीचमा पर्दैमा जोखिम भई हाल्दैन । तर भोलि कुनै अप्रिय घटना भयो भने त्यसको जोखिममा त्यस क्षेत्र बाहिरमा नागरिक पर्नसक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । कारागारभित्र कुनै अप्रिय घटना भयो भने त्यसको त्रास बाहिर बस्तीका नागरिकमा पनि पर्न जाने गरेको छ ।
सशस्त्र द्वन्द्वकालमा विद्रोही र कारागार सुरक्षाकर्मीबीच भएको दोहोरो भिडन्तको स्मरण नागरिकको मनमा अभैm ताजै छ । ‘भिडन्तमा हाम्रो घरमा पनि गोली लागेको थियो, अब के हुन्छ, भन्ने त्रासले रातभरि सुत्न सकिएको थिएँ’, कारागार बाहिर घर भएका भरत शर्माको भनाइ छ । साथै कैदी कैदीबीच पनि बेलाबखत हुने भैmँझगडाको अप्रत्यक्ष असर त्यस क्षेत्रका नागरिकमा पर्न जाने गरेको छ । कैदी बीचको झगडा नियन्त्रण गर्ने क्रममा केही वर्षअघि कारागार सुरक्षाकर्मीको गोली लागेर एक कैदीको मृत्युसमेत भएको थियो ।
विगतका यी घटना फेरि दोहोरिँदैनन् भनेर किटान गर्न नसक्ने भएकाले पनि कारागारलाई अन्यत्र सार्नुपर्ने आवाज नागरिक र प्रशासनिकस्तरबाट उठ्न थालेको छ । नेपालगन्ज–१० स्थित बाँके कारागारको भौतिक अवस्था पनि अहिले जीर्ण हुँदै गएको छ । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल एकदमै पुराना भइसकेका छन् । कारागारमा कैदीको संख्या पनि बढ्दै गएको छ । कारागारको वरिपरिको वातावरण पनि एकदमै फोहर रहेको छ । कारागारबाट निस्केको फोहर हाताभित्र फालिन्छ । ढल निकासको व्यवस्था पनि छैन ।
फोहर बढी भएकाले कैदी पनि अधिक संख्यामा बिरामी हुने गरेको कारागार प्रशासनको भनाइ छ । फोहरकै कारण कैदीको सुरक्षामा खटिएको सुरक्षाकर्मीलाई पनि सुरक्षा दिन अप्ठ्यारो हुने गरेको छ । यी सबै यावत् समस्याका कारण समग्रमा यसले सुरक्षा चुनौती अझै बढाएको छ । कारागार प्रशासनले कारागारको चारैतिर बलिया पर्खाल नभएको, कारागार घना बस्तीको बीचमा रहेको र क्षमताभन्दा बढी कैदी रहेकाले सुरक्षामा चुनौती थपिएको बताएको छ । कारागारमा कैदीलाई भेट्नका लागि १० देखि ४ बजेसम्म कारागार खुल्ला रहन्छ । त्यो समयमा कैदीलाई तिनका परिवार र आफन्तले भेट्न सक्छन ।
सुरक्षा दिनका लागि कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० जना सुरक्षाकर्मी खटिएका छन् । ‘क्षमताभन्दा बढी कैदी, बन्दी राख्नुपर्ने बाध्यता, आधुनिक सुरक्षा प्रबन्धको अभाव र घनाबस्तीको बीचमा कारागार हुनुका कारण सुरक्षा चुनौती बढेको हो’, निमित्त जेलर श्यामलाल लामिछानेको भनाइ छ । करीव १७ कट्ठा पाँच धुर क्षेत्रफलमा रहेको बाँके कारागारको कैदी, बन्दी क्षमता ३०० मात्र हो । तर कारागारमा अहिले ६०६ महिला र पुरुष कैदी, बन्दी रहेका छन् । महिला कैदीसँग दुईजना कैदीका सन्तानले पनि कारागारमा आश्रय लिइरहेका छन् ।
स्थापना हँुदा कारागारको आसपासका क्षेत्रमा बस्ती नरहे पनि अहिले कारागार वरिपरि बाक्लो बस्ती प्रस्ट देख्न सकिन्छ । मानव बस्ती बाक्लिँदै गएपछि तथा कैदी, बन्दीको अनुपातमा कारागारको भौतिक संरचना साँघुरो भएपछि सरकारले अहिले बाँके जिल्लाको गनापुरमा खुल्ला कारागार निर्माण कार्यसमेत शुरु गरिसकेको छ । बाँकेका प्रजिअ रमेशकुमार केसीका अनुसार, आठ बिघा क्षेत्रफलमा रहेको खुल्ला कारागारको दुई कोठा र ब्यारेक निर्माण कार्य सकिएको छ भने अन्य संरचना निर्माण भइरहेका छन् ।
यसैगरी, बाँकेकै नौवस्तामा पनि १० बिघा क्षेत्रफलमा नेपालगन्ज कारागारको निर्माण कार्य थालिएको छ । यी दुवै कारागारको निर्माण कार्य पाँच वर्षभित्र सक्ने समय निर्धारण गरिएको पनि उनले जानकारी दिए । ‘यी दुवै कारागार निर्माण भएपछि सम्भवतः नेपालगन्जको मानव बस्तीको बीचमा रहेको बाँके कारागार त्यहाँ नरहन सक्छ’, प्रजिअ केसीको भनाइ थियो । कैदी, बन्दीको आचरण सुधार, नागरिकको मनबाट कारागार प्रतिको त्रास हटाउन तथा भविष्यमा कुनै अप्रिय घटनाको सम्भावना आउन नदिन पनि अहिले नेपालगन्जको मध्य भागमा रहेको बाँके कारागार त्यहाबाट जतिसकेको छिटो हटाउनुपर्ने अहिलेको आवश्यकता होभन्दा अत्युक्ति नहोला । रासस

प्रकाशित समय : २२:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु