global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ आज २५ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

आज २५ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

आज २५ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

काठमाडौँ । आज मे ३ विश्वभर २५औँ प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घले घोषणा गरेपछि युनेस्कोले हरेक वर्ष मे ३ का दिन विश्वभर यो दिवस मनाउँदै आएको छ । नेपालमा भने यो दिवस सन् १९९६ देखि मनाउन थालिएको हो । यस वर्षको प्रेस दिवसको अन्तर्राष्ट्रिय नारा ‘शक्तिको निगरानी ः सञ्चारमाध्यम, न्याय र विधिको शासन’ भन्ने रहेको छ ।

यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका सम्पूर्ण सञ्चारकर्मीलाई शुभकामना दिएका छन् । राज्यमन्त्री बाँस्कोटाद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा सन् २०१७ मा मात्रै पेसागत दायित्व निर्वाहको सिलसिलामा विश्वभर ७९ जना पत्रकारको हत्या भएको उल्लेख गर्दै उनीहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
राज्यमन्त्री बाँस्कोटाले नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको र अभ्यासमा पनि त्यही अनुसारको वातावरण बनाउन नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।
अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसकै सन्दर्भमा नेपाल पत्रकार महासङ्घले जारी गरेको शुभकामना सन्देशमा यस वर्ष सम्पन्न तीन तहको निर्वाचनको सन्दर्भमा राज्यपक्षबाट नै प्रेस स्वतन्त्रता हननका घटना बढी भएको टिप्पणी गरेको छ ।
महासङ्घले २०१७ मे ४ देखि २०१८ मे २ सम्म नेपालमा प्रेस स्वतन्त्रता हननका ६२ घटना भएको तथ्याङ्क सार्वजनिक गरेको छ । यस्ता घटनामा सबैभन्दा बढी पत्रकारमाथि धम्की र दुव्र्यवहारका १९ घटना भएका छन् भने भौतिक आक्रमणका १७ वटा घटना र पत्रकार पक्राउका १६ वटा घटना भएको उल्लेख गरेको छ । महासङ्घले प्रेस स्वतन्त्रता हननविरुद्धका दण्डहीनता र ‘सेल्फ सेन्सरसिप’ कायमै रहेको जनाएको छ ।
महासङ्घले प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभई समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय भएको उल्लेख गरेको छ । महासङ्घको शुभकामना सन्देशमा प्रेस आफैँ पनि मर्यादित हुनुपर्ने र राज्यले पनि स्वनियमको माध्यमबाट यसलाई संरक्षण, सम्बद्र्धन एवं विकासका निम्ति नीतिगत, कानुनी र संरचनागत सुदृढीकरणका लागि काम गर्नुपर्ने बताइएको छ ।
महासङ्घले राष्ट्रिय आमसञ्चार नीति २०७३ को कार्यान्वयन एवं सूचना तथा सञ्चारसम्बन्धी कानुनी र संरचनागत व्यवस्थाका लागि नेपाल सरकारसँग माग पनि गरेको छ ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु