global ime bank Long Banner Ad

गृहपृष्ठ चुरेमा १२ सय किलोमिटर मदन भण्डारी राजमार्ग बन्ने

चुरेमा १२ सय किलोमिटर मदन भण्डारी राजमार्ग बन्ने

चुरेमा १२ सय किलोमिटर मदन भण्डारी राजमार्ग बन्ने

काठमाडौं । पूर्व मेची र पश्चिम महाकालीलाई जोड्ने १२ सय किलोमिटर लामो चुरे राजमार्ग निर्माण गर्ने भएको छ । सडक विभागले तयार पारेको डिजाइन अनुसार सरकारले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म चुरे पहाडमा मदन भण्डारी राजमार्ग निर्माण गर्न लागेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले चुरेमा १२ सय किलोमिटर लामो राजमार्ग निर्माण गर्ने र त्यसको नाम मदन भण्डारी राजमार्ग राख्ने निर्णय गरेको हो । हाल १०२८ किलोमिटर लामो मेची महाकाली जोड्ने पूर्व पश्चिम राजमार्ग सञ्चालनमा रहेको छ भने १७७६ किलोमिटर लामो मध्यपहाडी लोकमार्गको निर्माण भैरहेको छ ।
त्यस्तै, ९४५ किलोमिटर लामो हुलाकी राजमार्गको निर्माण पनि धमाधम अघि बढिरहेको छ । सरकारले मेची–महाकली जोड्ने चौथो विकल्पका रुपमा मदन भण्डारी राजमार्ग निर्माण गर्ने निर्णय गरेको हो । ‘विकास र समृद्धिको लाइफलाइन भनेको सडक नै हो, अब चुरेमा १२०० किलोमिटर लामो मदन भण्डारी राजमार्ग निर्माण हुनेछ,’ सडक विभागका प्रवक्ता मुक्ति गौतमले भने ।
धरान–चतरा–गाइघाट–सिन्धुली–हेटौँडा सडकलाई नै विस्तार गरेर मेचीदेखि महाकाली पुर्याउन लागिएको हो । ५० किलोमिटर स्पीड लिमिट कायम गरिएको ३१८ किलोमिटर लामो यो सडक आगामी ३० महिनाभित्रै निर्माण सम्पन्न हुँदैछ । त्यस बाहेक धरानदेखि काँकडभिट्टासम्मको ९० किलोमिटरको काम पनि अघि बढिसकेको छ । हेटौँडा पश्चिम खण्डका लागि भने सम्भाव्यता अध्ययनका लागि आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गराउने प्रक्रिया अघि बढेको छ ।
‘३१८ किलोमिटरको काम धमाधम अघि बढेको छ, ९० किलोमिटरमा पनि ट्रयाक खुलिसकेको छ, हेटौँडा पश्चिम खण्डको सम्भाव्यता अध्ययनका लागि आगामी बजेटमा रकम विनियोजन हुनेछ,’ सडक विभागका प्रवक्ता गौतमले भने । उनका अनुसार चुरे राजमार्ग दाङ–लमही–तुलसीपुरसम्म बनेको सडक, सुर्खेतमा र कञ्चनपुरको माथिल्लो सडक जोगबुढा हुँदै अघि बढ्नेछ । महेन्द्र राजमार्ग मार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको बिचभागमा निर्माण हुने यो सडकले लाखौं नेपालीलाई सडक सञ्जालमा जोड्ने विभागले दावी गरेको छ । संघिय संरचना कार्यान्वयनमा आएसँगै अब १२ हजार किलोमिटर सडक मात्रै विभागको अख्तियारी क्षेत्रमा परेको छ । बाँकी सडक भने प्रदेश र स्थानीय तहमा गएको छ ।

प्रकाशित समय : १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु