गृहपृष्ठ हेटाैडामा खाद्य स्वच्छता दिवस मनाइयाे
हेटाैडामा खाद्य स्वच्छता दिवस मनाइयाे
हेटौंडा- क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले १०औं खाद्य स्वच्छता दिवस–२०७५ मनाउने कार्य सुरु गरेको छ । ‘हामी सबैको सरोकार खाद्य शृंखलामा स्वच्छता र गुणस्तर’ भन्ने नाराका साथ देशभर दिवस मनाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्णयअनुसार क्षेत्रीय खाद्यले पनि विविध कार्यक्रमको आयोजना गरेको हो ।
कार्यालयले आइतबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत तीनदिने कार्यक्रमबारे जानकारी गराएको छ । खाद्य स्वच्छता दिवसको पहिलो दिन पत्रकार सम्मेलन तथा कार्यालय परिसर सरसफाइ कार्यक्रमको आयोजना गरिएको क्षेत्रीय प्रमुख राजकुमार रिजालले जानकारी दिए । तीनदिने कार्यक्रमको दोस्रो दिन सोमबार ७ जेठ खाद्य स्वच्छतासम्बन्धी चेतनामूलक प्रवचन तथा माइकिङको कार्यक्रम राखिएको छ ।
विद्यालय शिक्षा कार्यक्रमअन्तर्गत जिल्ला शिक्षा निरीक्षण एकाइ चितवन, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाबाट स्थानीय विद्यालयमा गई खाद्य स्वच्छतासम्बन्धी सचेतनामूलक प्रवचन कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको क्षेत्रीय कार्यालय प्रमुख रिजालले बताए । त्यसैगरी, वीरगन्ज र हेटौंडामा माइकिङमार्फत प्रचारप्रसारको कार्यक्रमसमेत राखिएको छ । त्यसैगरी, सोमबार नै ‘हामी सबैको सरोकार खाद्य शृंखलामा स्वच्छता र गुणस्तर’ विषयक हेटौंडाका सामुदायिक माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको छ ।
प्रकाशित समय : १६:४७ बजे


















