गृहपृष्ठ तिलोत्तमाका २५ सडकको राइट अफ वे निर्धारण
तिलोत्तमाका २५ सडकको राइट अफ वे निर्धारण
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका २५ वटा सडकको अधिकार क्षेत्र (राइट अफ वे) निर्धारण गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को अधिकार प्रयोग गरी स्थानीय सडकको राइट अफ वे न्यूनतम १३ मिटर निर्धारण गरिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ४५ को उपदफा (१) मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्र स्थानीय सडकको दायाँ–बायाँको अधिकार क्षेत्र (राईट अफ वे) को सीमा तोक्न सक्ने उल्लेख छ ।
राईट अफ वे तोकिएको सडकमध्ये तिलोत्तमा चक्रपथमा पर्ने सडकको हकमा नयाँ मापदण्ड कायम गरी लागू गरिने नगरपालिकाले जनाएको छ । प्लटिङ गरिने जग्गामा समेत न्यूनतम ३० फुट बाटो कायम गरेको तिलोत्तमाले महत्वपूर्ण स्थानीय सडकहरुको सीमा ४३ फुट कायम गरेको हो ।
तिलोत्तमाले मंगलापुर–कान्छीबजार, पत्थरडाँडा–तिनाउ, ड्राइभरटोल–शिवपुर, गणेशनगर–शिवपुर–सेमरा–मुडियारी, भलवारी–तिनाउ, शंकरनगर–वनवाटिका, कोटिहवा–कानपारा, पुरानो सडक अर्थात् ड्राइभरटोल–कोटिहवा, रोहिणी पुलबाट भूपू सैनिक हुँदै कान्छीबजार–जमुहानी–ठटहारिया सडकको राइट अफ वे ४३ फुट कायम गरेको छ ।
यस्तै शंकरपुरबाट नगरपालिका भवन निर्माणस्थल जोड्ने सडक, मधवलिया–कान्छीबजार, भरौलिया–ठटरिया–कानपारा, कोटिहवा–टिकुलीगढ, सिताराइस मिल–डिंगरनगर, योगीकुटी–शारादा स्कूल–भवानीपुर जोडने सडकको राइट अफ वे पनि ४३ फुट कायम गरिएको नगरपालिकाले जनाएको छ । टिकुलीगढ–पश्चिम पहुनी–गोरकट्टा–डिंगरनगर– योगीकुटी, नयाँ मिल–तिनाउ, न्यूलाईट–प्रेमनगर, योगिकुटी–शिवचोक–प्रेमनगर–टिकाभवन, मंगलापुर, शिवपुर– बुधबारे–मक्रहर–बेवरी, सुखाहानी–बेहुली–गंगोलिया, नयाँमिल –प्रगतिचोक– रामनगर–भलबारी सडकको पनि राइट अफ वे ४३ फुट कायम गरिएको छ ।
यसैगरी पूर्वपहुँनी डाँडा–कुन्जलापुर–भक्तपुर, सिताराईमिल जोडिने सडक, जहदा– मुडियारी, जबरजस्तपुर– लखन चोक सडकको पनि राइट अफ वे ४३ फुट कायम गरिएको नगरपालिकाले जनाएको छ ।
राइट अफ वे कायम गरिएका सडकको स्तरोन्नतीलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको छ । नगरपालिकाले पहिलो चरणमा धेरै प्रयोगमा आउने सडकको राइट अफ वे निर्धारण गरेको हो । स्थानीय सरकार सञ्चालन ऐनको दफा ४५ को उपदफा (२) मा गाउँपालिका वा नगरपालिकाले राष्ट्रिय तथा प्रदेश स्तरीय सडकको राइट अफ वे मापदण्ड पालना गर्नु÷गराउनुपर्ने उल्लेख छ ।
प्रकाशित समय : ००:५८ बजे



















