गृहपृष्ठ जेठ १५ देखि नयाँ वसपार्क–सिनामंगल रुटमा दिगो सार्वजनिक यातायात चल्दै
जेठ १५ देखि नयाँ वसपार्क–सिनामंगल रुटमा दिगो सार्वजनिक यातायात चल्दै
काठमाडौं।
सरकारले आगामी जेठ १५ गणतन्त्र दिवसका दिनदेखि ठूलो बसहरु सञ्चालनमा ल्याउने भएको छ । सरकारको ठूलो वस सञ्चालन गर्ने नीतिअनुसार दिगो सार्वजनिक यातायातले जेठ १५ देखि नयाँ बसपार्क–सिनामंगल रुटमा सुविधा सम्पन्न ठुला बस सेवा सञ्चालन गर्ने भएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर बस सेवा सञ्चाल गर्ने योजनाका साथ काम भैरहेको दिगो सार्वजनिक यातायातका सचिव लालप्रासद गुरागाँईले बताए । उनका अनुसार गत वैशाखबाट बस सेवा शुभारम्म गर्ने योजना बनाएको थियो तर कम्पनीले युरो मापदण्ड ४ को गाडी ल्याउने भएपछि करिव एक महिना ढिला हुन गएको हो ।
‘हामीले हिजो गाडी बनाइरहेको कम्पनीसंग कुरा गरेको थियौं, उनीहरुले भोली छ वटा बस पठाउँछौ भनेका छन्,’ उनले भने, ‘जेठ १५ सम्म कतिवटा गाडी आइपुग्छन् हामी सेवा सुरु गर्छौ ।’ युरो ४ मापदण्डका गाडीहरु सबैभन्दा कम प्रदुषण गर्ने सवारी साधनमा पर्दछन् । कम्पनीले सुरुमा १७ वटा बस ल्याएर सरकारको ‘मास ट्रान्सपोर्टेसन’ योजना कार्यान्वयन गर्न लागेको हो ।
‘मास ट्रान्सपोर्टेसन’ व्यवस्था कार्यान्वयनका लागि पाइलट प्रोजेक्टका रुपमा यो रुटमा जेठदेखि ठूला बस मात्रै सञ्चालन गर्न लागिएको हो । सरकारले उपत्यकामा देखिएको ट्राफिक जामको समस्या न्युनीकरणका लागि तत्कालका लागि मास ट्रान्सपोर्टेसनमा जान लागेको हो ।

हाल यो रुटमा सञ्चालन भैरहेका सवारीसाधनलाई राजधानीकै अर्को रुटमा सञ्चालनका लागि रुट इजाजत दिने सहमती भएको यातायात व्यवस्था विभागका इन्जिनियर शरद आचार्यले जानकारी दिए । विभागका अनुसार अहिले यो रुटमा सफा ट्याम्पो र माइक्रो गरी ६६ वटा सवारी साधन संचालनमा छन् ।
यातायात व्यवस्था बिभागले यो रुटमा दिगो यातायातका १७ वटा बस सञ्चालनका लागि रुट इजाजत समेत दिईसकेको छ ।
बस स्मार्ट पुस्ता लक्षित भएको कम्पनीको दाबी छ । बसमा क्यासलेस पेमेन्ट सुविधा उपलब्ध हुने कम्पनीका सचिव गुरागाईले जानकारी दिए । यसका लागि स्मार्ट कार्ड उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
बस अपांगमैत्री हुने छ । बसभित्रै ह्विलचियर राख्न मिल्ने छ भने बस लो बेसको हुनेछ । यसबाट यात्रुहरुलाई गाडीमा चढ्न र ओर्लनका लागि सहज हुने बताइएको छ । बसमा सिसिटीभी क्यामेरा, फ्रि वाईफाई, एलइडी टीभी हुनेछ ।
बसलाई कम्पनीले अफिसबाटै निर्देशन दिनका लागि कन्ट्रोल सिस्टम जडान गर्ने ब्यबस्था गरेको छ । जिपिएस जडान हुने भएकाले बस कहाँ पुग्यो भन्ने जानकारी यात्रुहरुले आफ्नो मोबाइलबाट थाहा पाउनेछन् यसका लागि अहिले एप बनाइरहेको कम्पनीले जानकारी दिएको छ । त्यसैगरी आरक्षण सिटका लागि फरक रंग प्रयोग गरी चिन्ह सजिलो बनाइएको छ ।
बसहरु नयाँ बसपार्कदेखि गोंगबु–लैनचौर–रत्नपार्क–डिल्लीबजार–मैतीदेवी–पुरानो बानेश्वर–सिनामंगल रुटमा सञ्चालन हुनेछ । यो रुटलाई एस फाईभ रुटको नामले पनि चिनिन्छ । यो रुट करिव ९ किलोमिटर रहेको छ ।
धेरै लामो समयदेखि सरकारले यो रुटमा ठूला बस सञ्चालन गर्ने योजना बनाएको थियो । यो क्षेत्रमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका व्यवसायीहरुले विरोध गरेका थिए । तर एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान र नगर विकास कोषले ८० प्रतिशत ५ प्रतिशत सहुलियत ऋण दिने भएपछि व्यवसायीहरु सहमत भएका हुन् ।
नयाँ सुविधा सम्पन्न बस खरिद गर्नका लागि नगर विकास कोषले ८० प्रतिशत सहुलियत ऋण, एडिबीले १५ प्रतिशत अनुदान र काठमाडौं उपत्यका दिगो शहरी यातायात आयोजनाले ५ प्रतिशत लगानी गर्ने छ ।
प्रकाशित समय : १५:४४ बजे



















