गृहपृष्ठ यसरी बन्दैछ, बाहिरी चक्रपथः चोभारदेखि सतुंगलसम्म यसैबर्षदेखि शुरु
यसरी बन्दैछ, बाहिरी चक्रपथः चोभारदेखि सतुंगलसम्म यसैबर्षदेखि शुरु
काठमडौं । लामो समयदेखि अबरुद्ध बनेको काठमाडौंको बाहिरी चक्रपथ बन्ने भएको छ । सरकाले काठमाडौंको बाहिरी चक्रपथको डीपीआर स्वीकृत गरेसंगै बाहिरी चक्रपथ बन्ने निश्चित भएको छ ।
बैंठकले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण गर्ने सतुंगल क्षेत्रको ६ दशमलव ६ किमी क्षेत्रको जग्गा एकीकरण योजना सञ्चालन गर्न उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय मन्त्रीपरिषले गरिसकेको सरकारका सुचना तथा सञ्चार राज्य मन्त्री एवं प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिउ ।

चोभारदेखि भत्केको पाटी, मच्छेगाउँ, गाम्चा हुँदै सतुंगलसम्मको खण्डमा जग्गा एकीकरणका लागि प्राधिकरणले जिम्मा पाएको हो । चक्रपथको पहिलो खण्ड निर्माणका लागि ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सडकको लागि आवश्यक पर्ने जग्गा प्राप्तिको लागि उपत्यका विकास प्राधिकरण काठमाडौंले जग्गा एकीकरणको सूचना जारी गरेसँगै आयोजना निर्माणको कार्य आधारभुत तहमा गएको जिल्ला आयुक्त दिपक श्रेष्ठले जानकारी दिए ।
चक्रपथ निर्माणको लागि उपत्यका विकास प्राधिकरणले बनाएको विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) स्वीकृत भएको हो । डिपिआर पारित भएर जग्गा प्राप्तीको प्रक्रिया सुरु भएकोले सडक निर्माण यही वर्षबाट सुरु हुनेमा प्रधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारी ढुक्क छन् ।
डिपिआरमा ल्यान्ड पुलिङको माध्यमबाट जग्गा प्राप्ति तथा व्यवस्थापन गर्ने, ब्लक योजना बनाउने जस्ता व्यवस्था गरिएको छ । कुल ७३ किलोमिटर लामो बाह्य चक्रपथ खण्ड–खण्डमा निर्माण गर्ने योजनाअनुरुप पहिलो चरणमा सतुंगल–चोभार खण्ड निर्माण हुने तिवारीले जानकारी दिए । यो खण्ड साढे ६ किलोमिटर लामो हुनेछ। कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकाभित्र पर्ने ठाउँहरू बाह्य चक्रपथको यो खण्डले समेट्नेछ ।
अयोजनाबाट प्रभावित हुने सात हजार रोपनी जग्गाको कित्ताकाट गरेर जिल्ला आयुक्तको कार्यालय काठमाडौंले राखेको छ । कसको जग्गा कति परेको छ भनेर कुनैपनि बासिन्दा कार्यालयमा बुझ्न आएमा कार्यालयले उपलब्ध गराउने आयुक्त श्रेष्ठले जानकारी दिए ।
सडकको लागि आवश्यक पर्ने सबै जग्गा एकीकरण गरेर सडक बनाउने र सडकको वरीपरी घडेरी वा टाउनप्लानिङ गरेर सम्बन्धित धनीहरुलाई अनुपातिकरुपमा प्राधिकरणले जग्गा वितरण गर्ने छ ।
यो प्रक्रियामा कुनै पनि जग्गा धनीहरुलाई विस्थापित नगर्नेगरी ल्यान्ड पुलिङको माध्यमबाट व्यवस्थापन गर्ने योजना बनाएको प्राधिकरणले सबै जग्गा र धनीको सूची तयार पारेको थियो । यसरी तयार पारिएको सुचना अनुसार अतिक्रमणमा पर्ने जग्गाधनीहरुको सूची राजपत्रमा प्रकाशित भएको छ ।

यो खण्डमा ८ हजार ९ सय रोपनी जग्गा एकीकरणको लागि सूचना जारी गरिएको छ। जसमा १३ हजार ७ सय कित्ता जमिन रहेको छ । यो सूचीनमा परेका जग्गाको कित्ता कारोबार बन्द हुने छ भने ट्रयाक खोल्ने काम थालनी हुने प्राधिरकणका प्रमुख आयुक्त तिवारीले जानकारी दिए ।
ट्रयाक खोल्दा सार्वजनिक खरिद ऐन, नियमअनुसार गरिने र आवश्यकता अनुसार उपभोक्ता समितिबाट पनि काम सम्पन्न गरिने आयोजनाले जानकारी दिएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन र फैलिँदो सहरीकरण व्यवस्थित गर्न सरकारले बाह्य चक्रपथको अवधारणा ल्याएको हो ।
आव २०६०÷६१ देखि नै निरन्तर बजेट विनियोजन हुँदै आएको थियो । जग्गा अधिकरणलाई लिएर ठाउँ–ठाउँमा स्थानीयको विरोधका कारण निर्माण सुरु हुन सकेको थिएन । उपत्यका विकास प्राधिकरणअन्तर्गत सञ्चालन हुने यो आयोजना एकैपटक निर्माण गर्न सम्भव नदेखिएपछि खण्ड–खण्डमा अघि बढाउने निर्णय भएको अधिकारीहरुको भनाइ छ ।
प्रारम्भिक योजनाअनुसार बाह्य चक्रपथ काठमाडौंमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ किलोमिटर हुनेछ । यसैमध्ये पहिलो चरणमा काठमाडौंमा पर्ने सतुंगल–चोभार खण्ड निर्माण हुन लागेको हो । यसबाहेक अन्य खण्डको विस्तृत आयोजना प्रतिवेदन तयार हुन बाँकी छ । त्यस आधारमा बाह्य चक्रपथको स्वरुप प्रारम्भिक योजनाभन्दा फरक पनि हुन सक्छ ।
अहिलेसम्मको योजनाअनुसार काठमाडौंमा बाह्य चक्रपथले ओगट्ने क्षेत्रमा चोभार, गाम्चा, सतुङ्गुल, नैकाप–पुरानो भञ्ज्याङ, सीतापाइला, नागार्जुन डाँडा, नेपालटार, गोंगबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल र थलीडाँछी छन् । ललितपुरमा लुभु, ठैव, धापाखेल, ठेचो, बुङ्मती हुँदै चोभारसम्म जानेछ ।
त्यस्तै, भक्तपुरको गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङ्डोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमी र दधिकोटलाई पनि बाह्य चक्रपथले समेट्नेछ । पचास मिटर चौडा हुने बाह्य चक्रपथ आठ लेनको हुनेछ । यसमा साइकल लेनको पनि छुट्टै व्यवस्था हुनेछ । बाहिरी चक्रपथको दायाँबायाँ ६२ हजार रोपनी क्षेत्रफलमा व्यवस्थित बस्ती विकास गर्ने योजना यसअघि नै घोषणा गरिएको थियो ।
यसअघि आव २०६५÷६६ मै सतुंगल–चोभार खण्डको निर्माण थालनी गर्ने भनिए पनि स्थानीयको विरोधले रोकिएको थियो । खेतीयोग्य जमिनबाट सडक निर्माण गर्न नहुने स्थानीयको माग थियो । प्राधिकरणले ‘ल्याण्ड पुलिङ’ को अवधारणाबाट प्रभावित क्षेत्रका बासिन्दालाई अन्यत्र बसोबास गराउने योजना ल्याएर सबैको सहमतिमै आयोजना सुरु गर्ने जानकारी दिएको छ ।
प्रकाशित समय : १६:०० बजे




















