गृहपृष्ठ बैज्ञानिक बन व्यवस्थापनको नाममा बन फडानी, सालको रुख काटेको भन्दै स्थानीयद्वारा बिरोध
बैज्ञानिक बन व्यवस्थापनको नाममा बन फडानी, सालको रुख काटेको भन्दै स्थानीयद्वारा बिरोध
सर्लाही । सर्लाहीमा वैज्ञानिक वन व्यवस्थापनको नाममा धमाधम बन फडानी सुरुभएको छ । जिल्लामा प्रसस्त मात्रामा खाली बन छाडेर जिल्ला बनकार्यलयले बन व्यवस्थापन गर्ने भन्दै सालको रुख कटान गरेको हो ।
जिल्लामा बन मासिदै गएको अवस्थामा बृक्षा रोपण गर्नु पर्नेमा खाली जमिन छोडेर हरिपुर १ जानकीनगरमा रहेको जानकीनगर साझेदारी वनको सालको रुख काट्न थालेपछि स्थानियबासी आक्रोसित बनेका छन् । ‘दिन प्रतिदिन बन सखाप बन्दै गएको छ,’ स्थानीय राजन तामाङले भने, ‘छदाखादाको बन मासेर कस्तो बन संरक्षण गर्न लागेको हो ?’
वन व्यवस्थापन गर्नका लागि सालका पूराना रुखहरु २ दिनदेखि कटान हुन थालेपछि स्थानियबासी वन जोगाउन लागि परेका छन् । वन फडानीले वन्यजन्तु भाग्ने र पर्यावरणमा नकरात्मक प्रभाव पर्ने भन्दै स्थानीयबासी आन्दोलित बनेका हुन् । रुख कटानबाट आफुहरुलाई प्रत्यक्ष अप्रत्यक्ष नकारात्मक प्रभावपर्ने भएपछि आफुहरु बाध्य भएर आन्दोलन गर्नु परेको स्थानीयको भनाई छ ।
वन कार्यलयले खाली जमिन छोडेर आफुहरुले उपभोग गर्दै आएको वनको रुख एक्कासि कटान गर्न थालेपछि आन्दोलनमा उत्रनुपरेको हरिपुर नगरपालिका वडा नं. १ का वडा सदस्य कुमार चौलागाईले बताए । सो क्षेत्रमा १६ हेक्टरमा वैज्ञानिक वन व्यवस्थापन गर्ने कार्य भैरको जिल्ला बन कार्यलयको भनाई छ । कयै हेक्टर बनको जग्गा उजाड हुदाहुदै सालको रुख भएको बन फडानी गर्नु शंकाको बिषय भएको स्थानीयको आशंका छ ।
‘यो कस्तो प्रकृतिको वन व्यवस्थापन हो’ ?, चौलागाईले प्रश्न गरे, ‘खाली जमिनमा बृक्षारोपण गर्नु पथ्र्यो । तर साल भएको ठाउँमा पूराना रुखहरु काटिन थालेपछि वन कार्यालयको कार्य प्रति शंका उत्पन्न भएको हो ।’ सालको रुख भएको वन भन्दा बाहिर कूकाठ भएका झाडी सहितको प्रसस्त जंगल खाली छ । काम नलाग्ने रुखहरुलाई छोडेर सालै साल भएको वनमा कटान हुनु शंकास्पद कार्य भएको स्थानीयले बताए ।

रुख कटान भएपछि जमिन मरुभूमी बन्ने खतरा बढेको स्थानीय गंगाराम पोख्रेलले बताए । विगतका दिनमा वन फडानी गरेका जमिनहरु मरुभुमी परिणत भएको भन्दै सानो रुख लगाएर ठूला रुख काट्नु पर्ने स्थानीयको तर्क छ । उपभोक्ता समितिलाई जानकारी नै नदिइ रुखहरु काटिएको स्थानीय उपभोक्ता दामोदर भण्डारीले आरोप लगाए ।
वैज्ञानिक वन व्यवस्थापन गर्ने सरकारको निर्णय अनुसार जिल्ला वन कार्यालयले उक्त स्थानलाई खाली गर्न लागेको जनाएको छ । नेपाल सरकारको स्वीकृत कार्य योजनाअनुसार रुखहरु कटान भइरहेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत बेचन यादवले बताए । ‘वैज्ञानिक वन व्यवस्थापन गर्नका लागि रुख कटान गरिएको छ,’ उनले भने, ‘राज्यले निर्णय गरेको अनुसार नै कार्यलयले रुख काट्न लगाएको हो ।’
कार्यलयले बनमा अनाबश्यक क्षती नहुनेगरी प्राविधिक राखेर कटान गरेको बताएको हो । ‘गत फागुन २५ गते बसेको जिल्ला वन क्षेत्र समन्वय समितिको निर्णय अनुसार रुख कटानको काम हुदैं छ,’ वन अधिकृत यादवले भने, ‘सम्बन्धित वनका अध्यक्ष र हरिपुर नगरपालिकाका मेयरलाई खबर गरेर रुख काट्ने कार्य हुदैं छ ।’ वैज्ञानिक वन व्यवस्थापन सम्बन्धित कुरा नबुझेका कारण गाउँलेहरु आन्दोलित बनेका उनले बताए ।
सर्लाहीका दुईवटा वनलाई वैज्ञानिक वन व्यवस्थापन गर्नका लागि छनौट गरिएको छ । जसमध्य जानकीनगर साझेदारी वन १६ हेक्टर र फूलजोरबाबामा २५ हेक्टर जमिनमा वैज्ञानिक वन व्यवस्थापन गर्नका लागि धमाधम रुख कटान तथा तारबारको कामहरु भइरहेको छ ।
प्रकाशित समय : १७:०३ बजे




















