global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपालको चासोका विषय, जसलार्इ भारतले गर्यो बेवास्ता

नेपालको चासोका विषय, जसलार्इ भारतले गर्यो बेवास्ता

नेपालको चासोका विषय, जसलार्इ भारतले गर्यो बेवास्ता

काठमाडौं- नेपाल-भारत सम्बन्धका थुप्रै आयाम छन् । एकातिर राजनीतिक र आर्थिक सम्बन्ध र अर्कातिर सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धले हामी जेलिएका छौं । भारतीय ‘ठालु प्रवृत्ति’का कारण राजनीतिक र आर्थिक सम्बन्धमा दरार सिर्जना हुँदै जाँदा सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध ‘मलम’ बन्ने गरेको छ । जस्तो कि वैशाख २८ र २९ गते सम्पन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको अन्तर्य भारतको कर्णाटक राज्यमा हुने विधानसभा चुनावको प्रचारसँग जोडिएको छ । तर, नेपालका जनकपुर र मुक्तिनाथको दर्शन गरेर मोदीले सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्धलार्इ विशेष महत्व दिएको कुरालार्इ भने नकार्न सकिन्न ।

भारतले नेपालबाट के चाहन्छ भन्ने विषयमा अनेक बहस हुने गरेका छन् । तर, नेपालले चासो राखेका कैयन् विषयमा भारतीय पक्षबाट बेवास्ता भइरहेको छ भन्ने आधारहरू धेरै छन् । भारतीय पक्षको यस्तै बेवास्ताका कारण नेपाल-भारत सम्बन्धमा पटक-पटक अविश्वास पैदा हुने गरेको छ । र, यसको मुख्य कारक भारत नै हो ।

आइतबार संसदमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण उपलब्धीमूलक र दुर्इ देशको सम्बन्धलार्इ थप उचाइमा पुर्याउन सफल भएको बताए । र, यो भ्रमण नेपालको पक्षमा भएको उनको दाबी छ । उनले भने, ‘दुई देशको सम्बन्ध अहिले नयाँ स्तरमा प्रवेश गरेको र बराबरीको हैसियतमा अगाडि लैजाने वातावरण बनेको छ,’ उनले भने । एक घण्टा लामो सम्बोधनका क्रममा प्रधानमन्त्रीले नेपालले चासो राखेका तर भारतीय पक्षले बेवास्ता गरेका विषयहरू पनि बेलिविस्तार लगाए ।

 

के हुन् नेपालको चासोका विषय, जसलार्इ भारतले बेवास्ता गरिरहेको छ ?

– सन् १९५० सहितका पुराना सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह बनेको छ । प्रबुद्ध समूहले कतिपय विषय समाधानको बाटोमा लैजाने प्रयास गरेको छ । तर, प्रबुद्ध समूहको काम निकै सुस्त छ । १९५० को असमान सन्धिलाई समयानुकूल बनाउने नेपालको चासो भारतीय प्राथमिकतामा परेको छैन ।

– पञ्चेश्वरअन्तर्गत टनकपुरमा १३ सय मिटरको लिंक रोड बनाउने द्विपक्षीय सहमति, सारदा ब्यारेजलगायतका विषय र महाकाली नदीमा तीनवटा पुल बनाउने विषयमा भारतले बेवास्ता गरिरहेको छ ।

– महेन्द्रनगरमा चार लेनको पुल बनेपछि भारतीय राजमार्गमा जोड्न ६.८ किलोमिटर बाटो बनाउनुपर्ने हुन्छ । तर, यो सडक बनाउने विषयलार्इ भारतले महत्व दिएको छैन ।

– ऊर्जा बैंक स्थापना र बुटवल-गोरखपुर ट्रान्समिसन लाइन निर्माणबारे नेपाली पक्षको प्रस्तावलार्इ भारतले खासै ध्यान दिएको छैन । हुलाकी सडक निर्माणको लापर्बाही पनि अविश्वसनीय छ ।

– भारतमा नोटबन्दीको घोषणापछि नेपाली बैंकिङ प्रणालीमा रहेका नोट सटहीबारे नेपालले विभिन्न माध्यमबाट पटक-पटक गम्भीरता साथ कुरा उठाइरहेको छ । तर, भारतले कुनै चासो दिएको छैन ।

– नेपालले चिया, अदुवा, जुट, अलैंचीलगायतका कृषि वस्तु निकासीमा पटक-पटक समस्या खेप्दै आएको छ तर भारतले नेपाली कृषिउपज निर्यातलार्इ सहज बनाउनुपर्ने नेपालको चासोलार्इ कहिल्यै सम्बोधन गर्ने प्रयास गरेको छैन । फलस्वरूप, नेपाली व्यापारी-व्यवसायीले सीमा नाकामा समय-समयमा अनेक तनाव झेल्नुपर्छ ।

– अन्तर्राष्ट्रिय सन्धि-सम्झौतालार्इ बेवास्ता गर्दै भारतले सीमा क्षेत्रमा बनाएका बाँधका कारण नेपालको हजारौं बिघा जमिन डुबानमा पर्ने गरेको छ । तर, भारतले ती समस्या निराकरण गर्नु त कता, सीमा क्षेत्रमा सडक र बाँध निर्माणलार्इ थप तीव्रता दिइरहेको छ ।

 

सहमति भएका विषयमा पनि कार्यान्वयन सुस्त

नेपाल र भारतका बीचमा विगतमा भएका थुप्रै सम्झौता कार्यान्वयनमा ढिलाइ हुने गरेको छ । सम्झौता गर्ने तर कार्यान्वयनमा बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । कतिपय सम्झौता भएका आयोजना तथा कार्यक्रमहरू वर्षौंदेखि पेन्डिङ छन् । कृषि, सडक, जलविद्युतलगायतमा भारतीय लगानी ‘अवरोधक’ मात्र बन्ने गरेको छ । अर्थात्, परियोजना होल्ड गर्ने तर नबनाउने प्रवृत्तिका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरिरहेको छ ।

प्रधानमन्त्री ओलीको भनाइमा नेपाल र भारतबीच यसपटक ‘टाइम फ्रेम’ नै तोकेर विगतका सम्झौता कार्यान्वयन गर्ने सहमति भएको छ । तर, यस्ता सम्झौता कार्यान्वयमा कुनै एक मुलुकमात्र सकारात्मक भएर वा कुनै एक मुलुकले मात्र चासो दिएर पुग्दैन, दुवै देशका सम्बन्धित निकाय उत्तिकै जिम्मेबार र गम्भीर बन्न जरूरी छ । र, भारतले नेपाललार्इ हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म नेपालको चासो र चिन्ता वर्षौंसम्म चर्चा र बहसको विषयमात्र बनिरहने निश्चित छ ।

प्रकाशित समय : २१:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु