global ime bank Long Banner Ad

गृहपृष्ठ चीनसँग विगतकै सम्झौता कार्यान्वयनमा प्रधानमन्त्रीको जोड

चीनसँग विगतकै सम्झौता कार्यान्वयनमा प्रधानमन्त्रीको जोड

चीनसँग विगतकै सम्झौता कार्यान्वयनमा प्रधानमन्त्रीको जोड

सरकारले चीनसँग विगतमा भएका सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिने भएको छ । मंगलबारदेखि हुने चीनको राजकीय भ्रमणबारे सोमबार संघीय सदनको संयुक्त बैठकलाई जानकारी गराउँदै ओलीले आफ्नो सन् २०१६ मा भएको पहिलो भ्रमणका क्रममा गरेका सम्झौता कार्यान्वयनमा जोड दिइने बताए । ‘भूकम्पपछि तातोपानी नाका चलिरहेको छैन । विभिन्न बाटाहरुको बारेमा हामीले चीनसँग कुरा गरेका छौं । थप केही बाटोहरु, थप करिडोरहरुमा समझदारी हुने सम्भावना छ,’ उनले भने ।
भ्रमणको अवसरमा दुई पक्षबीच गरिने सबै सम्झौता, समझदारी र छलफल मुलुकको बृहत्तर हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर हुने प्रधानमन्त्री ओलीको स्पष्टोक्ति छ । उनले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सीमा क्षेत्रका गतिविधिमा कडाइ गरिने उनले स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले सरकारले चीनको संवेदनशीलता बुझेको बताए । ‘छिमेकीका जायज चासो, चिन्ता र सरोकार सुन्ने गरेका छौं, ध्यान दिने गरेका छौं, चीनविरुद्धका कुनै पनि गतिविधिमा नेपाली भूमि प्रयोग हुन दिने छैनौं,’ स्वतन्त्र तिब्बतका नाममा पछिल्लो समयमा भइरहेका गतिविधितर्फ लक्षित गर्दै प्रधानमन्त्रीले भने । बेइजिङपछि ल्हासा पुग्ने र नेपाल र चीनबीचको सीमावर्ती क्षेत्रका विषयमा पनि छलफल हुने उनले बताए । तर, के विषयमा छलफल हुने भन्ने खुलाएनन् ।
यसपटको भ्रमणका क्रममा पनि विगतकै नीति र अडान कायम रहने भन्दै ओलीले रााष्ट्रिय हित र स्वाभिमान अक्षुण्ण राख्दै वार्ता तथा संवाद हुने जानकारी गराए । छिमेकीसँगको मित्रतालाई अझ मजबुत बनाउने कुरालाई ध्यानमा राखेर चीनसँग छलफल हुने प्रधानमन्त्री बताए ।
भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ, चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु तथा राष्ट्रिय कांग्रेसका अध्यक्षसँग समेत भेटवार्ता हुनेछ । चिनियाँ नेतासँग व्यापार घाटा कम गर्ने तथा विद्युत् परियोजनामा चिनियाँ सहयोग जुटाउनेलगायतका विषयमा छलफल हुने ओलीको भनाइ छ । ‘चिनियाँ लगानी कसरी प्रवद्र्धन गर्न सकिन्छ, चीनबाट कसरी सहयोग दिन सकिन्छ, कसरी बढी पर्यटक भित्र्याउन सकिन्छ भन्ने विषयमा छलफल हुनेछ,’ ओलीले भने ।

प्रकाशित समय : २२:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु