गृहपृष्ठ यसकारण ३६ अंकले बढ्यो सेयरबजार
यसकारण ३६ अंकले बढ्यो सेयरबजार
साताको अन्तिम कारोबार हुने दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३६ अंकले उकालो लागेको छ । व्यापार र उत्पादनमूलकबाहेकका सबै समूह बढेपछि समग्र बजार परिसूचक सकारात्मक बनेको हो ।
लामो समयपछि उकालो लागेको बजारमा सेयर कारोबार रकममा पनि दोब्बरभन्दा बढीले वृद्धि भएको छ । केही दिनदेखि २०–२२ करोड हाराहारीमा कारोबार भइरहेको बजारमा बिहीबार ४६ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
बैंकहरुले ब्याजदर सीमा तोकेर केही सहज स्थिति सिर्जना गरेका बेला मौद्रिक नीतिमा सेयर कर्जाको सीमा बढाइने हल्लाका बीच बजार उकालो लागेको छ । लगानीकर्ताले पनि हाल ५० प्रतिशत रहेको सेयर धितो कर्जाको सीमा बढाएर ८० प्रतिशत पुर्याउनुपर्ने माग गर्दै आएका छन् । यद्यपि, राष्ट्र बैंकले ७० प्रतिशतसम्म पुर्याउन सक्ने विश्वासमा लगानीकर्ता छन् ।
सेयर बजार विश्लेषकहरुले भने हल्लाको भरमा नभई कम्पनी अध्ययन गरेर लगानी गर्न सुझाव दिएका छन् । बजार धेरै तल भएका कारण लगानी गर्दा जोखिम कम भए पनि राम्रा कम्पनी छान्न उनीहरुको सुझाव छ ।
प्रकाशित समय : २२:५२ बजे


















