डा. केसीको समर्थनमा बुटवलमा हस्ताक्षर संकलन
वि.सं.२०७५ असार २२ शुक्रवार ०२:५९
shares

स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै बुटवलमा हस्ताक्षर संकलन गरिएको छ । डा. केसीले उठाएका माग सम्बोधनका लागि सरकारलाई दबाब सिर्जना गर्न हस्ताक्षर संकलन गरिएको हो । स्वतन्त्र युवा अभियन्ताले बुटवलको अस्पताल लाइनमा हस्ताक्षर संकलन गरेका हुन् ।
त्यस्तै, नयाँ शक्ति पार्टी नेपालले पनि डा. केसीको माग सम्बोधन गर्न माग गर्दै आज नै देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नयाँ शक्ति रुपन्देहीले पनि जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । पार्टीका जिल्ला इन्चार्ज देवेन्द्रनाथ पाण्डेको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्रमा डा. केसीले उठाएका माग तुरुन्त पूरा गर्न, डा. केसीसँग भएका पूर्वसहमति तत्काल कार्यान्वयन गर्न र लोकतन्त्रको मूल्य मान्यताविपरीत काठमाडौंलगायतका देशका विभिन्न स्थानमा जारी गरिएका निषेधाज्ञाका निर्णय तुरुन्त फिर्ता गर्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउँदै पार्टीका प्रदेश संयोजक यज्ञ पोखरेलले पूर्ववर्ती सरकारसँग माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेगरी संसदमा विधेयक प्रस्तुत गर्ने सहमति भएकोमा वर्तमान सरकारले उक्त विधेयकलाई प्रतिस्थापन गर्नेगरी मेडिकल माफियालाई प्रोत्साहन गर्न लागेको आरोप लगाए ।
























