गृहपृष्ठ रुस विश्वकप : चारमध्ये दुई टोली घर फर्कँदै, कसको सम्भावना कति ?
रुस विश्वकप : चारमध्ये दुई टोली घर फर्कँदै, कसको सम्भावना कति ?
विश्वकप फुटबलअन्तर्गत आजबाट क्वाटरफाइनलका खेल सुरु हुँदैछन् । निज्नी नोभगोरोद स्टेडियममा पौने ८ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगललाई पराजित गर्दै उरुग्वेले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो भने अर्जेन्टिनालाई घर पठाएर फ्रान्सले क्वाटरफाइनलको यात्रा तय गरेको हो । यी दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।
सन् १९९८ को विश्व विजेता फ्रान्सले यसपटक प्रिक्वाटरफाइनलमा साविक उपविजेता अर्जेन्टिनालाई ४–३ गोलले पराजित गरिदिएको थियो । फ्रान्सका १९ वर्षीय युवा खेलाडी केलिन एमबाप्पेले दुई गोल गरेका थिए । तीव्र गतिमा दौडिन र बलमा नियन्त्रण गर्न सक्ने उनी लयमा देखिएका छन् ।
त्यसअघि फ्रान्सले समूहगत चरणमा संघर्ष गर्नु परेपनि दुई जित र एक बराबरीको नतिजा निकालेको थियो । फ्रान्सले पहिलो खेलमा अस्ट्रेलियालाई २–१ गोलले हराएको थियो भने दोस्रोमा पेरुलाई १–० ले स्तब्ध पारेको थियो । समूहको तेस्रो तथा अन्तिम खेलमा भने फ्रान्स डेनमार्कसँग गोलरहित बराबरीमा रोकियो ।
फ्रान्स अन्तिमपटक सन् २००६ को विश्वकपमा कम्तीमा सेमिफाइनलसम्म पुगेको थियो । सन् १९३० र १९५० को विश्वविजेता उरुग्वेले यसपटक नकआउट चरणमा साविक युरोकप विजेता पोर्चुगललाई २–१ गोलले पराजित गरेको थियो । उरुग्वेको जितमा दुवै गोल एडिन्सन काभानीले गरेका थिए ।
प्रतियोगितामा लुइस स्वारेज र काभानीबीच ट्याकल प्रशंसालायक देखिएको छ । दुवै खेलाडीले तीन फरक विश्वकपमा गोल गरेको इतिहास छ । यसपटक उरुग्वेले समूह चरणमा तीनवटै खेल जितेको थियो। इजिप्ट र साउदी अरबविरुद्ध १–० गोलको नतिजा निकालेको उरुग्वेले अन्तिम खेलमा घरेलु टोली रुसलाई ३–० गोलले हराएको थियो । उरुग्वे अन्तिमपटक सन् २०१० को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो ।
बेल्जियम र ब्राजिल
यस्तै काजन एरेनामा आज राति पौने १२ बजे हुने दोस्रो खेलमा ब्राजिल र बेल्जियम आमने सामने हुँदैछन् । मेक्सिकोलाई हराएर क्वाटरफाइनल प्रवेश गरेको ब्राजिलले जापानलाई पराजित गरेर आएको बेल्जियमसँग खेल्न लागेको हो ।
पाँचपटकको विश्वविजेता र दुई पटकको उपविजेता ब्राजिल जारी विश्वकपमा क्वाटरफाइनल पुग्ने केवल दुई दक्षिण अमेरिकी टोलीमध्ये एक रहेको छ । प्रतियोगिताको क्वाटरफाइनल पुग्ने चार पुर्व विजेतामध्ये एक रहेको ब्राजिलले यसपटक नकआउट चरणमा मेक्सिकोलाई २–० गोलले हराएको थियो ।
उसले समूह चरणको पहिलो खेलमा स्विजरल्यान्डसँग १–१ गोलको बराबरी खेलेपनि त्यसपछिका दुवै खेलमा कोस्टारिका र सर्बियालाई समान २–० गोलले हराएको थियो । अन्तिमपटक सन् २००२ मा विजेता बनेको ब्राजिल त्यसपछिका लगातार दुई संस्करणमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।
ब्राजिलले चार वर्षअघि घरेलु मैदानमा आयोजित विश्वकपमा सेमिफाइनलसम्म पुगेपनि जर्मनीसँग ७–१ गोलको लज्जास्पद पराजय भोगेको थियो ।
युवा जोशले भरिएको ब्राजिलका स्टार ःट्राइकर नेइमार लयमा छन् । यता लगातार दोस्रोपटक क्वाटरफाइनल पुगेको बेल्जियम अन्तिमपटक सन् १९८६ को विश्वकपमा मात्र सेमिफाइनल पुगेको थियो । विश्वकपमा अन्तिम चारसम्म पुग्नु नै बेल्जियमको अहिलेसम्मकै ठूलो सफलता हो ।
यसपटक समूह चरणमा निकै राम्रो प्रदर्शन गरेको बेल्जियम नकआउट चरणमा भने भाग्यमानी रह्यो । अन्तिम १६ मा जापानविरुद्ध ६८ औं मिनेटसम्म २–० गोलले पछाडि रहेको बेल्जियमले अन्ततः ३–२ को नतिजा निकालेर क्वाटरफाइनलमा स्थान बनाएको हो ।
बेल्जियमले समूह चरणमा पनामालाई ३–०, ट्युनिसियालाई ५–२ र इङ्ल्यान्डलाई १–० गोलले हराएको थियो । टोलीका कप्तान रोमेलु लुकाकुले जारी विश्वकपमा चार गोल गरिसकेका छन् । बेल्जियम पछिल्ला २३ खेलयता अपराजित छ । उसले करिब दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा पराजित हुनुपरेको छैन ।
प्रकाशित समय : १३:०१ बजे




















