गरिबका हकमा बढाइएको कर घटाइन्छ-अर्थमन्त्री
वि.सं.२०७५ भदौ २ शनिवार ००:४८
shares

अर्थमन्त्री डा युवराज खतिवडाले करबारे अनावश्यक प्रचार भएको बताएका छन् । सरकारले जथाभावी र बढी कर लिएको भनेर अतिसयुक्ति गरिएको उनको भनाइ छ । कर लगाएकै कारणले संघीयता असफल नहुने उनले दाबी पनि गरे । आर्थिक पत्रकारहरुसँगको भेटमा अर्थमन्त्री खतिवडाले भने, ‘करका विषयमा देखिएका अन्यौल हटाउन सरकारले काम गरिरहेको छ, तर बाहिर हल्ला चलाइए जस्तो करकै कारण संघीयता असफल हुँदैन ।’
अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करको अन्यौलता हटाउन समिति गठन गरेको उनले जानकारी पनि दिए । ‘समितिले प्रतिवेदन दिएसँगै करसम्बन्धी अन्यौलता हट्छ,’ अर्थमन्त्री खतिवडाले भने ।
कर संकलन गरिएको विषयभन्दा पनि त्यो करलाई उत्पादन मुलक क्षेत्रमा प्रयोग भएको छ वा छैन त्यसमा अर्थमन्त्रालय बढी संवेदनशील रहेको उनले बताए । ‘कर तिर्न सक्नेलाई लगाउने हो, त्यो लगाइएको छ, कतिपय क्षेत्रमा नसक्ने व्यक्तिलाई लगाएको छ भने हटाउनको लागि हामीले काम गरिरहेका छाँै,’ उनले भने ।





















