शान्ति र समृद्धि बिमस्टेकको लक्ष्य : प्रधानमन्त्री ओली
वि.सं.२०७५ भदौ १५ शुक्रवार २२:१२
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रहरुको शान्ति, समृद्धि र दिगो विकास बिमस्टेकको लक्ष्य रहेको बताएका छन् । सदस्य राष्ट्रहरुको साझा प्रयास र सहकार्यबाट बिमस्टेक क्षेत्रमा समृद्धि सम्भव रहेको ओलीको भनाइ छ । बिमस्टेक शिखर सम्मेलन समापन समारोहमा प्रधानमन्त्री ओलीले नेपालले अध्यक्षता गरेका बेला सदस्य राष्ट्रका प्रमुख र सरकार प्रमुखहरुबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गरे । प्रधानमन्त्री ओलीले शिखर सम्मेलनले जारी गरेको १८ बँुदे काठमाडौं घोषणा पत्र कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग, साथ र समर्थन हुने विश्वास पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका बिमस्टेकका महासचिव, सदस्य राष्ट्रका सम्बन्धित निकाय, नेपालका सुरक्षाकर्मी, संचारकर्मी सबैप्रति पनि आभार व्यक्त गरे । नेपालले बिमस्टेक शिखर सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर आफ्नो कूटनीतिक क्षमता प्रर्दशन गरेको उनले बताए । शिखर सम्मेलनबाट पारित घोषणा पत्रले यस क्षेत्रको गरिवी अन्त्य गर्ने, आतंकवाद नियन्त्रण गर्ने र त्यसका लागि सम्बन्ध विस्तार गर्न राजमार्ग, रेलमार्ग, जलमार्ग र विद्युत प्रशारण लाईन स्थापना गर्ने लगायतका कामलाई जोड दिएको छ ।





















