काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

श्रीलंकाका राष्ट्रपति सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी जाने

8.24K
shares

 

श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना स्वयम्भूस्थित आनन्दकुटी विहार जाने भएका छन् । उनी स्वयम्भूस्थित विहारमा रहेको बुद्धको अस्थी धातु दर्शनका लागि आइतबार आनन्दकुटी जाने कार्यक्रम तय भएको छ ।

सिरिसेना स्वयम्भू जाने भएपछि स्वयम्भू क्षेत्रमा खुशीयाली छाएको छ । बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति सिरिसेना विहारमा आयोजना गरिने विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनेछन् । नेपाल बुद्धको जन्मभूमि हो । श्रीलंकाको राष्ट्र धर्म बौद्ध हो ।

दुई देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध निकट छ । उक्त विहारले राष्ट्रपति सिरिसेनालाई सुनको मोलम्बा (जलप) लगाएको बुद्धको प्रतिमा उपहार प्रदान गर्ने विहारका प्रमुख भिक्षु धर्ममूर्तिले जानकारी दिए ।

शाक्यमुनि बुद्धको अन्त्येष्टिका क्रममा प्राप्त भएका अवशेषलाई अस्थी धातु भनिन्छ । बुद्ध धर्मका अनुयायीले पवित्र वस्तुका रुपमा सम्मान गर्ने सो धातु श्रीलंकाबाट उपहारस्वरुप नेपाल ल्याइएको हो । मुलुकको पुरानो थेरवादी अभ्यास गरिने उक्त बौद्ध विहार २०७२ सालमा गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । विहारको पुनःनिर्माणका लागि श्रीलंका सरकारले २१ करोड सहयोग गरेको थियो । राष्ट्रपति सिरिसेनाले उक्त विहारको सम्पूर्ण संरचनाकाबारेमा जानकारी लिनेछन् ।

विहारको सो भवनको संरचना पूरा हुन लागेको भए पनि केही पूर्वाधारका साथै श्रीरामलंका चैत्य पूरै भत्काएर नयाँ निर्माणका क्रममा छ । पछिल्लो पटक विकास भएका अत्याधुनिक प्रविधिको प्रयोग गरी भूकम्प प्रतिरोधात्मक बनाइएको उक्त विहारमा धार्मिक गतिविधिका लागि हल, पुस्तकालय, भिक्षु बन्नका लागि दिक्षा लिने विशेष कक्षलगायतका संरचना तयार भइसकेको छ । पुनःनिर्माण करीब ९५ प्रतिशत सकिएको छ ।

सम्मेलनका लागि नेपाल आएका सिरिसेनाले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी, आइतबार आनन्दकुटी विहार र चारुमती विहार पुगेर ‘धन्दो चैत्य’को दर्शन तथा पूजा गर्ने कार्यक्रम छ । बिमस्टेकका सदस्य राष्ट्रमध्ये म्यान्मामा ८८, श्रीलङ्कामा ७५ र थाइल्याण्डमा ९० प्रतिशतको हाराहारीमा बौद्ध धर्मावलम्बी छन् । यी तीन मुलुक बौद्ध राष्ट्र हुन् ।

विशिष्ट पाहुनाले गर्ने सम्पदास्थलको भ्रमणले बौद्ध दर्शनको महत्वका साथै नेपालको धार्मिक र पर्यटकीय महत्वमा टेवा पुग्ने अखिल नेपाल भिक्षु महासंघका महासचिव कौडण्यले विश्वास व्यक्त गरे ।

आनन्दकुटी विहार गुठीले सञ्चालन गरेको करीब आठ दशक पुरानो मानिने सो विहारले बुद्ध जयन्तीमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको आतिथ्यतामा हुने मुख्य सार्वजनिक समारोह तथा प्रत्येक चार वर्षमा हुने अस्थी धातुयात्रा र प्रदर्शनको व्यवस्थापन गर्दै आएको छ । मुलुकमा अहिले विभिन्न धर्मावलम्बीका साथै १२५ जाति तथा समुदाय र १२३ भाषा प्रचलनमा रहेको भए पनि विभिन्न जाति तथा धर्मावलम्बी अवलोकनका लागि त्यहाँ आउने गरेका छन् ।

विश्व सम्पदा सूचीमा रहेको विहारले सामाजिक सेवा र धार्मिक गतिविधिका माध्यमबाट मानिसमा नैतिकताको विकास र समाजमा शान्ति कायम गर्न भूमिका निर्वाह गर्दैआएको भिक्षु तपस्सी धम्मले बताए । वि.सं. २०१० वैशाख पूर्णिमामा तत्कालीन राजा त्रिभुवनले आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बैठकको अध्यक्षता गरेको इतिहास छ ।