गृहपृष्ठ झाडापखालाको प्रकोपले आक्रान्त जलेश्वरको नैनही गाउँ

झाडापखालाको प्रकोपले आक्रान्त जलेश्वरको नैनही गाउँ

झाडापखालाको प्रकोपले आक्रान्त जलेश्वरको नैनही गाउँ

महोत्तरीको जलेश्वर नगरपालिकास्थित वडा नम्बर १२ मा रहेको नैनही गाउँ यतिबेला झाडापखालाको प्रकोपले अक्रान्त बनेको छ । सोमबार नैनही गाउँ पुग्दा झाडापखालाको बिरामी नरहेको घर पाउन हम्मे हम्मे थियो । ३०० भन्दा बढी परिवार बसाेबास गर्दै अाएकाे नैनहीमा प्रकाेपले भयावह रूप लिएकाे हाे ।

नैनहीमा झाडापखालाको प्रकोपकै कारण दुई सय २८ जना बिरामी परेका छन् । सोही कारण एक बालकको मृत्यु भइसकेको छ । बिरामीहरुको संख्या अझ बढी हुन सक्ने स्थानीयको भनाई छ ।

भदौ २५ देखि नै नैनहीमा झाडापखालाका बिरामी देखा पर्न थालेको स्थानीय बताउँछन् । तर, जिल्ला जनस्वाथ्य कार्यालय, नगरपालिकालगायतका सरोकारवाला निकायले समयमै ध्यान पुर्याउन नसक्दा र स्थानीयलेसमेत पर्याप्त सावधानी नअपनाउँदा झाडापखालाले उग्ररुप लिएको हो । भारतीय सीमा नजिकको नैनहीमा झाडापखालाका बिरामी देखा पर्न थालेपछि उपचारका लागि पनि उनीहरु नजिकको भारतीय बजार सुरसन्ड गए । छिटफूट रुपमा देखिँदा उपचार गराउन सुरसन्ड गए पनि प्रकोपको रुप लिइसकेपछि त्यसले मात्र समस्याको समाधान भएन ।

नैनहीका वडा अध्यक्ष रामतपेश्वर ठाकुर प्रकोप बढ्न थालेपछि मुस्लिम समुदायद्वारा नैनहीमा सञ्चालित मदरसा क्याम्पमा बिरामीलाई राखेर उपचार गराउन थालिएको बताउँछन् । नैनहीमा झण्डै तीन सयको हाराहारीमा मुस्लिम परिवार बसोबास गर्दै आएका छन् । उक्त तीन सय परिवारमै झाडापखालाको प्रकोप देखिएको छ ।

 

चार वर्षीय बालकको मृत्यु
झाडापखालाकै कारण नैनहीमा एक जनाको मृत्यु भइसकेको छ । ४ वर्षीया खुश्बु खातुनको झाडापखालाकै कारण मृत्यु भएको हो । अर्कातर्फ प्रकोपले बीसको उन्नाइस हुने लक्षण देखाएको छैन । अझ यसले महामारीको रुप लिँदै गएको देखिन्छ ।

 

उपचारमा टोली खटियो
प्रकोप बढ्दै गएपछि चिकित्सक टोली पनि त्यसलाई नियन्त्रणमा लिन खटिएको छ । तर, त्यसले प्रभाव पार्न सकेको देखिँदैन । डा. सुवोध मिश्राको नेतृत्वमा १५ सदस्यीय चिकित्सकको टोली २४ सै घण्टा बिरामीको उपचारमा सलग्न छ । सोमबार दिउँसो १२ बजेसम्म यस क्याम्पबाट २ सय २८ जनाको उपचार गरिएको छ । १८ जनालाई थप उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पताल रेफर गरिएको छ भने ५० जना बिरामीलाई स्लाइन पानी चढाइएको उपचारमा संलग्न डा. मिश्राले बताए ।

 

के भन्छन् स्थानियबासी ?
नैनही गाउँ भारतीय सिमासँग जोडिएको छ । सीमामात्र होइन नैनहीका बासिन्दाको दैनिकी पनि भारतसँगै जोडिएको छ । उनीहरुका प्रशासनिकबाहेकका कामकाज भारतसँगै जोडिएको छ । घरायासीदेखि अन्य सामानको किनमेल गर्न पनि उनीहरु सुरसन्ड जान्छन् । अर्थात् उनीहरुको दैनिकी भारतीय बजारसँग जोडिएको छ । यो एकतर्फी मात्र छैन भारतीयहरुको पनि नैनहीमा आवत जावत हुन्छ ।

सरसफाइकाे महत्व सम्झाउँदै अभियन्ता ।

स्थानीयका अनुसार भदौ २५ गते तिर गाउँमा भारतीय बजार सुरसण्डबाट एक भारतीय माछा ब्यापारी माछा विक्रि गर्न नैनही आएका थिए । उनले राखेको माछाको भाउ आश्चर्यजनक छ, ३ किलोको एक सय रुपैयाँ । यो चलन चल्तीको बजारभाउभन्दा सस्तो हो । स्थानीय राजु यादवका अनुसार माछा बेच्न आएका ती व्यापारीले नेपाली १०० रुपैयाँमा ३ किलो माछा बेचेर गएका थिए ।

विषादीयुक्त धानखेतबाट संकलन गरिएको आशंका गरिएको ती माछा खाएपछि स्थानीयमा झाडापखालाको प्रकोप देखिएको नैनहीका वाडा अध्यक्ष रामतपेश्वर ठाकुरले बताए । फोहोर, कुहिएको माछा खाएकाले झाडापखाला लागेको हुन सक्ने अनुमान जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्राको पनि छ । तर, काठमाडौंबाट आएका चिकित्सक टोलीले बिरामीको दिशा, पिसाव, रगत र खानेपानीको सेम्पल जाँचका लागि लगेकाले सोको रिपाेर्ट आएपछि थप जानकारी प्राप्त हुने प्रमुख मिश्रले बताए ।

हाल नगरपालिकाले बिरामीको स्वास्थ्य चेकजाँचको लागि एमबिबिएस डाक्टरको नेतृत्वमा १५ सदस्यीय टोली खटाएको मेयर मिश्रले न्युज कारोबारलाई बताए । औषधि अभावले बिरामीको स्वास्थ्य उपचारमा समस्या नहुने उनको भनाई छ ।

 

प्रकोप देखिएको गाउँ, टोल तथा घरसमेत दुर्गन्धित
सोमबार जनकपुरबाट चिकित्सकको टोलीसहित सरसफाई अभियान्ताहरु नैनही गाउँ पुग्दा स्थानियबासिन्दाहरुको घर, आगँन निकै दुर्गन्धित रहेको पाइएको छ । ३ सय घरपरिवार मुस्लिमहरुको बसोबास भएको नैनहीमा खाना पकाउने (भान्छा कोठा), सुत्नेकोठा, खानेपानी, नुहाउने र भाडा माझ्ने पोखरी निकै दुर्गन्धित देखिएको छ ।

फाेहाेर भरिएकाे बस्ती ।

जनकपुरबाट गरिब असहाय मञ्चका अध्यक्ष बैधनाथ साह र दिपक ठाकुरको नेतृत्वमा गएका टोली झाडापखाला प्रभावितको घर–घरमा पुगेर सरसफाइ गर्दै सरसफाइको महत्व र सरसफाइको फाइदाबारे जनचेतना फैलाएका थिए ।

सरसफाई टोली गाउँमा पुग्दा स्थानीयको खाने पकाउनेदेखि लिएर सुत्ने, नुहाउने पोखरी र भाडा माझ्नेसम्मको स्थल फोहोरले भरिएको थियो । अधिकांश घरमा चर्पी भए पनि अधिकांश मान्छे शौच गर्न बाहिर सडक पेटीमै आउने गरेको स्थानीय नैनही युवा सेवा समितिका सचिव चन्दन कुमार झाले बताए । सडकपेटीमै दिसापिसाव गर्ने गरेकाले आफूहरुले वाडा कार्यालयको समन्वयमा ६ जना स्वयमसेवक परिचालन गरेको तर पनि सरसफाईमा स्थानीयलाई बुझाउन नसकेको उनको भनाई छ ।

स्थानियबासिन्दाहरुको घर-घरमा खानेपानीको ट्युबवेल छ तर निकै दुर्गन्धित फोहोर पानी भएको पोखरीमा आएर नुहाउने गरेका छन् । उक्त पोखरीको पानिमा नुहाउन त के छुन पनि नहुने खालको रहेको सरसफाई अभियानसँगै जनकपुर अञ्चल अस्पतालबाट गएका डा. सुधीर यादव र डा. दीपेन्द्र मेहताले बताए । गाउँमा फोहोरले दुर्गन्धित भइरहँदा नाला व्यवस्थापनसमेत नभएर नालाको पानि जमेकाले अर्काे समस्या पनि देखिएको छ ।

 

घर-घरमा छाडा कुखुरापालनले फोहोर
झाडापखाला प्रभावित मुस्लिम समुदायको अधिकांश घरमा छाडा रुपमा कुखुरा पालन गरिएको छ । घर-घरमा अवस्थित तवरले गरिएको कुखुरा पालनले थप समस्या निम्त्याएको छ । फोहोर बस्ती र नालामा कुखुरा जाने र सो कुखुराहरु सुत्ने कोठादेखि लिएर भान्छा कोठा र खाना खाने भाडोमा गएर बस्ने तथा अन्न, दाल भात खाइरहेको देखिएकाले कुखुरालेसमेत झाडापखालाको महामारी गाउँभरी नै फैलिएको हुन सक्ने जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले बताए ।

आफूहरुले गाउँका स्थानियबासिन्दाहरुलाई व्यवस्थित रुपमा कुखुरा पालन गर्न उनीहरुले माग गरे बमोजिम व्यवस्थित खोर बनाउन तयार रहेको नगरप्रमुख मिश्रले बताए । अवस्थित रुपमा कुखुरा पालन नगर्न आग्रह गरेको उनको भनाई छ । मिश्र भन्छन्, ‘गाउँभरी नै फैलिँदै गएको झाडापखालाको एक कारण अवस्थित कुखुरा पालन पनि हो जस्तो मलाई लागेको छ ।’

 

झाडापखाला नियन्त्रण गर्न अझै समय लाग्ने
उता उपचारमा सम्लग्न चिकित्सकहरुले भने झाडापखालाको प्रकोप नियन्त्रणमा लिन समय लाग्ने बताएका छन् । भदौ २५ गतेदेखि नै बिरामी देखिएको नैनही गाउँमा झाडापखालाका बिरामीको नियन्त्रण गर्न अझै समय लाग्ने उपचारमा सलग्न डा. सन्तोष यादवले बताए ।

सरसफाइमा जुटेका अभियन्ता

क्याम्पमा भर्ना भएकामध्ये असोज २ गते २२ पुरुष र १९ महिला गरि ४१ जना, असोज ३ गते १८ पुरुष, १९ महिलासहित ३७ जना, असोज ४ गते १७ पुरुष र १७ महिला गरि ३४ जनालाई उपचार गरि घर फर्काइएको उनले बताए । त्यस्तै असोज ५ गते २१ जना पुरुष, २७ जना महिला, ६ गते ११ पुरुष १५ महिला, असोज ७ गते १८ पुरुष र २० महिलाको सफल उपचार गरिएको उपचारमा सम्लग्न डा. सुवोध मिश्राले बताए ।

डा. मिश्राले अहिले पनि दैनिक मान्छेहरु झाडापखालाका बिरामी भई क्याम्पमा उपचारका लागि आउदै गरेकाले पूर्ण रुपमा नियन्त्रण गर्न हप्तौं लाग्ने बताए । उनले भने, ‘क्याम्पमा आएपछि अहिलेसम्म एक जना बाहेक सवैलाई बचाउन सफल भएका छौं ।

प्रकाशित समय : ००:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु