रक्षाबन्धनकाे अबसरमा प्रदेश २ मा सार्वजनिक विदा
वि.सं.२०७५ भदौ १० आइतवार ०१:१६
shares

प्रदेश नम्बर २ को सरकारले रक्षाबन्धनका दिन आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आइतबार हुने रक्षाबन्धनका लागि प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विदाबारे सूचना प्रकाशित गरी यस्तो जानकारी दिएका हुन् । यसअघि प्रदेश सरकारले विदा दिए पनि संघीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले विदा दिन अस्वीकार गर्दै आएका थिए ।
प्रदेश २ भित्रका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तीय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक विदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ ।
मधेशका जिल्लामा दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन धुमधाम साथ मनाइँदैछ । रक्षाबन्धनमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने गर्दछन् ।






















