global ime bank Long Banner Ad

गृहपृष्ठ सामाजिक सञ्जालदेखि संसदसम्म ‘अरिंगाल’

सामाजिक सञ्जालदेखि संसदसम्म ‘अरिंगाल’

सामाजिक सञ्जालदेखि संसदसम्म ‘अरिंगाल’

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता तथा कार्यकर्तालाई ‘अरिंगाल’ जस्तै गरि प्रस्तुत हुन निर्देशन दिएलगतै यतिबेला सामाजिक सञ्जालदेखि संसदसम्म अरिंगालकै चर्चा छ ।

प्रधानमन्त्री ओलीले शनिबार पोष्टबहादुर बोगटी स्मृति दिवसमा सरकारको विरोध गर्ने विरुद्ध अरिंगालझै एक भएर झम्टिन निर्देशन दिएका थिए । ‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ ।

तर, हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन , त्यो हामीले हेर्नुपर्ने भएको छ । एउटा अरिंगाललाई मा¥यो भने ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने ’ कार्यक्रममा ओलीले भनेका थिए ।
सरकार विरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि नेता–कार्यकर्ता चुप बसेको भन्दै ओलीले आक्रोश पोखेका थिए । पार्टी भित्रभित्रै खोक्रो पार्ने ‘धमिरा प्रवृत्ति’ देखिएकोले अव अरिंगाल बन्न उनले निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीले दिएको सो अभिव्यक्ति अहिले उनै तर्फ फर्किएको छ । नेता, सांसददेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले अरिंगाल शब्दलाई व्यंग्य गरेर विभिन्न टिप्पणी गरिरहेका छन् ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा दुई महिनासम्म पनि पक्राउ नपरेको भन्दै सरकारको विरोध भइरहेकोबेला अरिंगाल शब्दले प्रधानमन्त्री ओलीलाई नै झम्टिएको छ ।

प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको आशय सकारात्मक रुपमा प्रयोग गरेको भएपनि अरिंगालको बिम्व उपयुक्त नभएको टिप्पणी गरेका छन् ।
‘प्रमको आशय आफ्नै पार्टीका साथीहरूले सहयोग गरेनन् भन्ने हुनसक्छ, त्यतिसम्म अन्यथा हैन, तर अरिंगालको बिम्व उपयुक्त भएन,’ उनले ट्वीटरमा लेखेका छन, ‘लोकतन्त्रमा विरोधको आवाजलाई थुन्ने हैन बरू त्यसलाई सतर्कताको घण्टी मानेर आफु अझ कर्तव्यपरायण बन्ने हो ।’

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि व्यंग्य गरेका छन् । उनले ट्वीटरमा भनेका छन्, ‘दुइतिहाइका प्रमले अह्राउनु भयो ‘विरोध गर्नेकाविरुद्ध अरिंगाल भएर जाइलाग्नोस् ।’

पत्रकार किशोर नेपालले ट्वीट गरेका छन्, ‘हरेक दिन बिहान अखबार सँगसँगै एक हुल अरिंगाल आउँछन र चिल्न थाल्दछन, के यही नै हो हाम्रो नियति ?’, कतिपयले त अरिंगाल शव्दप्रयोग गर्दै व्यंग्य कवितानै बनाएर   पोष्टेका छन् ।

त्यस्तै,सोमबार प्रतिनिधि सभाकोे बैठकको शून्य समयमा बोल्दै केही सांसदहरुले प्रधानमन्त्री ओलीको अभिब्यक्तिप्रति आपत्ति जनाए । सांसद मिनाक्षी झा, मिना पाण्डे, कांग्रेसका सांसद राजेन्द्रकुमार केसी लगायतले आलोचना गरेका थिए ।

‘देशभर हत्या हिंसाको घटना बढीरहेका छन,आलोचनबाट सरकार सुधारको बाटोमा जानुपर्नेमा आलोचना गर्ने विरुद्ध अरिंगाल जस्तै बन्नुस भन्नु खेदपूर्ण छ’, एक सांसदले भने ।

प्रकाशित समय : २०:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु