गृहपृष्ठ डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेसमा पर्ने परशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय दुर्इ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा परशुराम नगरपालिका-४, पोखरी बस्ने अन्दाजी २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका-१०, कुरमुल्लेका अन्दाजी २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।
आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् । घटना ९ गते रातिको भए पनि किशोरीले घर-परिवारलाई ढिलो बताएकाले तीन दिनपछि शुक्रबारमात्र प्रहरीमा जाहेरी आएको हो ।
पक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराले १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । फरार जोशीको इलाका प्रहरी कार्यालय जोगबुडा र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको संयुक्त टोलीले खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिए ।
प्रकाशित समय : १९:५८ बजे



















