जनप्रतिनिधिले चर्को मूल्यमा गहुँको बीउ बिक्री गरेको आरोप
वि.सं.२०७५ मंसिर १८ मंगलवार २२:५३
shares

धनुषको सबैला नगरपालिकाको जनप्रतिनिधिले नै चर्को मूल्यमा गहुँको बीउ बिक्री गरेका छन् । प्रदेश सरकारले कृषकलाई गहुँमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेलगतै जनप्रतिनिधिले चर्को मूल्यमा गहुँको बीउ बिक्री गरेका हुन् । नगरपालिकाले कृषकको लागि ५० प्रतिशत अनुदानमा गहुँको बीउ खरिद गरेको हो । तर, वडाअध्यक्षहरुले किनेको मूल्यमा थप रकम असुली गरेको कृषकहरुले गुनासो गरेका छन् ।
सबैला नगरपालिकाको वाडा नम्बर १, २, ३, ६, १० र ११ मा ४० किलोको गहुँको बोरा एक हजार ६ सयमा बिक्री गरेका छन् भने बाँकी वडाअध्यक्षहरुले एक हजार ४ सयको दरले बिक्री गरेका छन् । एउटै नगरपालिकामा ५० प्रतिशत अनुदानमा बिक्री गरिएको गहुँको बीउको मूल्य फरक भएपछि स्थानीयले विरोध गरेका छन् ।
सबैला नगरपालिकाका प्रमुख शिवशंकरप्रसाद साहले जनतालाई गहुको बीउ लिन सहज होस भनेर प्रत्येक वडामै पठाइएको बताए । उनका अनुसार नगरपालिकाले ४० किलोको बोराको एक हजार ४ सयमा नै बेच्न निर्देशन दिएको हो । तर, प्रमुख साहले केही वाडामा निर्धारित रकमभन्दा बढी रकम लिएको जनगुनासो आएकाले छानबिन गरिरहेको बताए ।
वडा नम्बर १ का अध्यक्ष पारस साहले न्युज कारोवारसँग भनेर्, ‘आफूहरुले ७६ रुपैँयामा खरिद गरेको गहुँको बीउमा ५० प्रतिशत प्रदेश सरकारको छुट अनुदान अनुसार एक हजार ४ सयमा बेच्नुपर्ने भएपनि रघुनाथपुरबाट ढुवानी खर्च लागेकाले केहि मूल्य बढेको हो ।’
ढुवानीका कारण कृषकसँगप्रति बोरा थप २ सय लिएको उनले स्विकार गरे। तर, अन्य ७ वडामा निर्धारण गरिएको मूल्यमा नै बिक्री गरिएको छ । तराइमा अहिले गहुँ छर्ने समय भएकाले कृषकले उन्नत बीउ नपाएर चर्को मूल्यमा खरिद गरेर छर्न बाध्य भएको वडा नम्बर १ का कृषक जगदिश यादवले बताए । अर्का कृषक ईश्वर रायले बीउ खरिद गर्दा आफूहरु ठगिएको गुनासो गरे ।
























