काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

धितोपत्रसम्बन्धी विषयवस्तु विद्यालय र कलेजस्तरको पाठ्यक्रममा राख्न पहल

10.01K
shares

नेपाल धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी विषयवस्तुलाई विद्यालय र कलेजस्तरको पाठ्यक्रममा राख्न पहल सुरु गरेको छ । वित्तशास्त्र तथा अर्थशास्त्रको सैद्धान्तिक ज्ञानको समेत व्यावहारिक उपयोग हुने ठहर गर्दै बोर्डले धितोपत्रसम्बन्धी विषयवस्तु विद्यालयस्तरबाटै अध्ययनका लागि पहल थालेको हो ।

सरकारको वित्तीय क्षेत्र विकास रणनीतिमा पुँजीबजारमा आमजनताको सहभागितालाई प्रोत्साहन गर्ने रणनीतिअनुसार विद्यालय र कलेजस्तरको पाठ्यक्रममा धितोपत्रसम्बन्धी विषयवस्तु समावेश गर्न पहल थालिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । बोर्डको आव २०७५/७६ को धितोपत्र तथा वस्तु विनियम बजारसम्बन्धी नीति तथा कार्यक्रमको बुँदा ६८ मा विश्वविद्यालय तथा उच्चमाध्यमिक विद्यालयका सम्बन्धित विषयको पाठ्यक्रममा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विषयवस्तु समावेश गराउन आवश्यक समन्वय गर्ने उल्लेख छ ।

त्यसका लागि बोर्डले पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मानविकी तथा समाजशास्त्र संकाय, व्यवस्थापन संकाय, कानुन संकायका डिनको कार्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथै लोक सेवा आयोगलाई समेत आग्रह गरेको छ । विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्नाले लगानीकर्ताको हित संरक्षण तथा सशक्तीकरणमा सहयोग पुग्ने प्रवक्ता गिरीले जानकारी दिए । यसले देशको अर्थतन्त्रको विकास, विस्तार तथा वृद्धिका साथै वित्तीय साक्षरताको स्तर अभिवृद्धि भई धितोपत्र बजारको दिगो विकासमा सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठान
सर्वसाधारण लगानीकर्ताको हित संरक्षण तथा पुँजीबजारको विकास र नियमन गर्ने मुख्य उद्देश्यले स्थापित बोर्डले वित्तीय रुपमा साक्षर नभई धितोपत्र बजारमा गरिएको लगानी जोखिमपूर्ण हुने भन्दै विगतदेखि नै लगानीकर्तामा साक्षरताको स्तर बढाउन प्रशिक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालू आवदेखि पाक्षिक लगानीकर्ता प्रशिक्षण तथा रेडियो कार्यक्रम पनि सुरु गरेको बोर्डले धितोपत्र बजारसम्बन्धी अध्ययन अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने लक्ष्यसमेत राखेको छ ।

सात सय स्थानीय तहमा प्राथमिक बजार
बोर्डका अनुसार देशभरका ७५३ मध्ये ७०० स्थानीय तहमा धितोपत्रको प्राथमिक बजार पुगेको छ । साथै, धितोपत्रको दोस्रो बजार सेवामा नयाँ स्वचालित कारोबार प्रणाली सञ्चालनमा आई देशव्यापी रुपमा विस्तार हुने क्रममा रहेकाले यसप्रतिको ज्ञान अभिवृद्धि अत्यावश्यक देखिएको प्रवक्ता गिरीले जानकारी दिए ।