गृहपृष्ठ भेरी पम्पिङ आयोजना : डीपीआरको काम अन्तिम चरणमा, आगामी आर्थिक वर्षभित्रै टेन्डर
भेरी पम्पिङ आयोजना : डीपीआरको काम अन्तिम चरणमा, आगामी आर्थिक वर्षभित्रै टेन्डर
भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको छ । आगामी एक महिनाभित्र डीपीआरको काम सकिने भएको हो । डीपीआरको काम हाम्रो अभियान कन्सल्टेन्सी काठमाडौंले जिम्मा लिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्न सो आयोजना निर्माण गर्न लागिएको हो ।
भेरीको पानी उपत्यकामा ल्याउने गरी खानेपानी तथा ढल व्यवस्थापन विभागले काम अघि बढाएको छ । आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई आधार मानी आयोजनाको काम अगाडि बढाउन लागिएको हो । डीपीआरको काम सकिएलगत्तै खानेपानी मन्त्रालयमा फाइल पठाई आयोजनाको टेन्डर प्रक्रियासमेत अगाडि बढाउने तयारी भएको सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलमणी देवकोटाले जानकारी दिए । उनले आगामी तीन वर्षभित्रमा भेरीको पानी सुर्खेत उपत्यकाका उपभोक्तालाई वितरण गरिने बताए । ‘आगामी आर्थिक वर्षभित्रै टेन्डर हुन्छ । हामीले डीपीआरको काम अन्तिम चरणमा पुर्याइसकेका छौं,’ उनले भने ।
खानेपानीमन्त्री मणिचन्द्र थापाले समेत आयोजनाको स्थलगत अनुगमन गरेका छन् । शनिबार सुर्खेत आइपुगेका मन्त्री थापाले उक्त आयोजनाको स्थलगत अनुगमनसमेत गरेका हुन् । जुनसुकै अवस्थामा पनि भेरीको पानी पम्पिङ गरी सुर्खेत उपत्यकामा पुर्याउनका लागि आफूले पहल गर्ने मन्त्री थापाले प्रतिवद्धता जनाएको संस्थाका अध्यक्ष देवकोटाले जानकारी दिए । जुनसुकै कानुनी बाधा भए पनि सुर्खेती जनतालाई खानेपानीको आपूर्तिबाट बञ्चित नगराइने प्रतिवद्धता मन्त्रीको गरेको र आफूहरुले समेत काम अगाडि बढाएकाले आगामी तीन वर्षभित्र भेरीको पानी उपत्यकावासीले पिउन पाउने उनले बताए ।
खानेपानी आयोजनाको पहिले भएको अध्ययनअनुसार भेरी पुुल र झुप्रा खोलाको दोभानबीचबाट पानी पम्पिङ गरेर ल्याइने भनिए पनि उक्त ठाउँ उपयुक्त नभएपछि पुनः पाँच सय ७४ मिटर माथिबाट पानी ल्याउने गरी अध्ययन अघि बढाइएको छ । यहाँबाट वीरेन्द्रनगर उपत्यकामा पानी ल्याउन सात किलोमिटर पाइपलाइन निर्माण गरिनेछ । विभागका अनुुसार भेरीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर ११ को अमृतडाँडा ल्याउने र त्यहाँबाट उपत्यकामा पानी वितरण गरिनेछ । त्यहाँ १२ हजार क्यूफिट लिटरको ट्यांकी निर्माण गरिनेछ । यसका लागि अमृतडाँडासम्म मात्र पानी ल्याउन करिब दुई अर्ब रूपैयाँ आवश्यक पर्ने अनुमान विभागले गरेको छ । अमृतडाँडामा पानी ल्याइसकेपछि वीरेन्द्रनगर उपत्यकामा वितरण गर्नका लागि संरचना तयार गर्न करिब चार अर्ब ६३ करोड ७९ लाख नौ हजार पाँच सय ८९ रूपैयाँ लागत लाग्ने अनुमान विभागले गरेको छ । यस हिसाबले भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन झण्डै सात अर्ब रूपैयाँ खर्च हुने विभागको आँकलन भएको देवकोटाले बताए ।
अध्यक्ष देवकोटाले झुप्रा बृहत खानेपानी आयोजना बनाउँदादेखि नै भेरीको पानी दीर्घकालीन विकल्पको रूपमा हेरिएको बताए । वर्षौं पहिलेदेखि भेरीको पानी ल्याउने योजना बने पनि अब भने त्यसले सार्थकता पाउन लागेको उनको भनाइ छ । उपत्यका आसपासका विभिन्न स्रोत गरेर अहिले वीरेन्द्रनगरमा एक सय ५७ लिटर प्रतिसेकेण्ड पानी आउँछ । तर, पानीको माग भने आपूर्तिभन्दा बढी छ । उपत्यकामा दुई सय ५७ लिटर प्रतिसेकेण्ड पानी आवश्यक पर्छ । उपत्यकामा वर्षेनी आठ सयदेखि एक हजारसम्म घरधुरी थपिने गरेका छन् । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार अझै १८ हजार घरधुरीलाई खानेपानीको धारा अपुग छ ।
पाँच हजार घरका लागि धाराको माग गरी निवेदन परेको संस्थाले जनाएको छ । वीरेन्द्रनगरमा अहिले १८ हजार आठ सय ५० धाराहरूमार्फत पानी वितरण हुँदै आएको छ । गर्मीयाममा पानी आपूर्तिमा ५० प्रतिशतले कमी आउने गरेको छ । जसका कारण उक्त सिजनमा ९६ घण्टाको पालो लगाएर पानी वितरण गर्ने गरिरएको छ । देवकोटाले आगामी आर्थिक वर्षमा आयोजनाको टेन्डर भएपछि तीन वर्षभित्र सुर्खेतका नागरिकको घरदैलोमा भेरीको पानी पुर्याउने तयारी भएको बताए ।
प्रकाशित समय : २०:३४ बजे


















