गृहपृष्ठ ओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप
ओमानलाई भारतले दियो कोरोनाविरुद्धको खोप
फाइल फोटो
भारतले खाडी मुलुक ओमानलाई कोरोनाभाइरस विरुद्धको खोप सहयोग प्रदान गरेको छ ।भारतले उपहारस्वरुप प्रदान गरेको एक लाख डोज खोप शनिबार ओमानको राजधानी मस्कट आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
भारतका विदेश मन्त्री एस जयशंकरले मित्रवत सम्बन्ध विकास गर्न ओमानलाई कोरोनाविरुद्धको खोप सहयोग स्वरुप प्रदान गरेको जानकारी दिए । ‘भारतमा बनाइएको कोरोना विरुद्धको खोप ओमानलाई उपलब्ध गराइएको छ, यो दुई देशको सम्बन्ध सयौँ वर्षदेखि मित्रवत रहेको परिणामस्वरुप हो,’ विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमानसहित क्यारेबियन देश, निकारागुवालगायतलाई कोरोनाको खोप उपहारस्वरुप दिने योजना रहेको बताए । अफ्रिकी मुलुकहरुलाई मात्रै झण्डै एक करोड खोप दिने तयारी भइरहेको पनि उनले जानकारी दिए ।भारतले साउदी अरब, दक्षिण अफ्रिका, क्यानडा, मंगोलियालगायतका देशलाई पनि कोरोनाको खोप दिने योजना बनाएको छ ।
‘यही जनवरी २० देखि हामीले छिमेकी देशहरुलाइ खोप सहयोग गर्न थालेका हौँ, अहिलेसम्म ५५ लाखभन्दा बढी खोप सहयोगस्वरुप प्रदान गरिएको छ,’ उनले भने । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोनाको खोप उत्पादन गर्ने क्षमताको हिसाबले भारत अग्रस्थानमा रहेको बताएका छन् ।
प्रकाशित समय : २०:२२ बजे



















