निजगढ विमानस्थल : व्यवस्थापनको पर्खाइमा टाँगिया बस्ती
वि.सं.२०७५ असोज २५ बिहीवार २२:३९
shares

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग प्रस्ताव गरिएको बाराको टाँगिया बस्ती व्यवस्थापनको पर्खाइमा छ । एक हजार ४ सय ७६ घरधुरी रहेको टाँगिया बस्ती विकासको विकास र विकल्पसहित व्यवस्थापनको पर्खाइमा छ ।
फास्ट ट्रयाक, एयरपोर्ट निर्माण मुल व्यवस्थापन तथा सरोकार समितिले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी उक्त वस्तीको उपयुक्त रुपमा व्यवस्थापन हुनुपर्नेमा जोड दिएको हो । विमानस्थल निर्माणमा स्थानीयभन्दा बाहिरको मान्छेको बढी अनावश्यक बहसको कारणले विमानस्थल निर्माणमा ढिलासुस्ति गर्न लागेको भन्दै समितिले गुनासो गर्याे ।
पत्रकार सम्मेलन गरी विमानस्थल निर्माणमा स्थानीय स्तरबाट कुनै किसीमको अबरोध नभएको जानकारी दिन पत्रकार सम्मेलन गर्नु परेको समितिका संयोजक रबिराज दंगालले बाताए ।
‘विमानस्थल निर्माणपछि वन विनासबाट सिंचाईको समस्या आउने भनिएको छ, त्यसलाई नारायणीको पानी राप्ती खोलामा डाइभर्सन गरी सिंगो बारा र पर्सालाई सिंचित गर्न सकिने विकल्प छ,’ दंगालले भने, ‘विमानस्थल निर्माण हुने क्रममा रुख कटान हुने सम्बन्धमा हामीले सरकारलाई आवश्यक रुख कटान गरी त्यसको क्षतिपूर्ती वापत रोप्नु पर्ने विरुवा रोप्ने कार्य देशका बिभिन्न स्थानमा अहिले नै सुरु गर्न सुझाव दिन चाहान्छौं ।’

विमानस्थल निर्माण हुने सुनिश्चित भइसकेको अवस्थामा पछिल्लो समयमा भएको बिभिन्न चलखेलले आध्याकर्षण गराएको उनीहरुले बताए । उनीहरुले सरोकारवाला विज्ञहरुलाई विकास निर्माणको कार्यमा सुझाव र निकासको लागि बहस गर्न आग्रहसमेत गरेका छन् ।
विमानस्थल निर्माणमा पछिल्लो समय अनावश्यक बहस र सुझावमा सरकार अल्झिएको पूर्वाधार विज्ञ डा. सूर्यराज आचर्यले बताए । ‘सल्लाह तथा सुझाव दिने सबैको आ–आफ्नै स्वार्थ हुन्छ, तर सरकारले सबैको सुझाव मान्न आवश्यक छैन,’ उनले भने, ‘विमानस्थल निर्माणमा सरकार अगाडि बढ्नु पर्छ, कति पनि समय ढिला गर्नु र बहस गर्नु आवश्यक छैन, विमानस्थल आजको आवश्यकता हो ।’
विमानस्थल निर्माणमा कुनै पनि बाहना नगर्न समितिले सरकारलाई आग्रह गरेका छन् । ५– ७ वर्षभित्र निर्माण सम्पन हुने सुनिश्चितताका लागि सरकारसँग माग गर्दै समितिले स्थानीय स्तरबाट गर्नु पर्ने समन्वयका लागि कुनै कसर बाँकी नराख्ने बताए ।






















