केन्द्रीय समिति बैठक छल्न अधिकांश कांग्रेस नेता जिल्लातिर
वि.सं.२०७५ असोज २५ बिहीवार २३:०६
shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लफडामा फँसेको छ । आफूनिकट नेपाल विद्यार्थी संघको प्रस्तावित विधानका कारण कांग्रेसभित्र अन्तरविरोध चुलिएको हो । संस्थापन र संस्थापनइतर पक्षबीच नेविसंघको विधानमा ३२ वर्षे उमेर हदलगायतका विषयलाई लिएर ठूलो मतभेद उत्पन्न भएको छ । जसका कारण बुधबार बस्ने भनिएको बैठक कहिले बस्ने टुंगो नै नलागी स्थगित गरियो ।
नेविसंघको १२औँ महाधिवेशनबाट लागू हुनेगरी सदस्यताको सन्दर्भमा पार्टीको केन्द्रीय समितिले ३२ वर्ष उमेर हद कायम गरेकोे थियो । तर, उमेर हदसम्बन्धी व्यवस्थालाई खुला गर्न माग गर्दै संस्थापनइतर पक्षले बैठक नै बहिष्कार गर्ने खबर थाहा पाएपछि सभापति शेरबहादुर देउवाकै निर्देशनमा केन्द्रीय समिति बैठक स्थागित गरिएको बताइएको छ ।
‘लोकतान्त्रिक विधिअनुसार निर्णय गरौं, निषेधको राजनीति नगरौं भन्दा तपाईंहरु पेलेर अघि बढ्नुहुन्छ भने आफैं बैठक बस्नुस्, जे–जे निर्णय गर्नुछ गर्नुस्’ भन्ने सन्देश देउवाका विश्वासपात्रमार्फत वरिष्ठ नेता रामचन्द्र पौडेलले पठाएको स्रोतको दाबी छ । ‘रामचन्द्र दाइसहितका केही नेता बैठकमा नआउने भएपछि आन्तरिक छलफल पहिला गरौं भनेर सभापतिजीले नै बैठक स्थगित गराउनुभएको हो,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने ।
यसअघि, पौडेलसहित महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत ६ जना नेताले उमेर हदसम्बन्धी व्यवस्थामा आफ्नो फरक मतलिखित रुपमै पेस गरेका थिए । ११औँ महाधिवेशनबाटै नेविसंघमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था भए पनि नेताहरुमा यसबारे विवाद छ । आइतबारको बैठकमा पनि शीर्ष नेताहरुबीच चर्काचर्की नै भएको थियो । बैठकमा वरिष्ठ पौडेल र पूर्वमहामन्त्रीद्वय, नेताहरु अर्जुननरसिंह केसी, प्रदीप पौडेललगायतले उमेर हदसम्बन्धी व्यवस्था अलोकतान्त्रिक र निषेधको राजनीति भएको भन्दै विरोध गरेका थिए ।
तर, बैठकमा उनीहरूबाहेक अन्य पदाधिकारी र सदस्यहरूले संगठनलाई चुस्त र दुरुस्त राख्दै व्यवस्थित बनाउन यसअघि कायम गरिएको प्रावधानलाई यथावत कायम राख्ने निर्णय गर्दै विधानका बाँकी विषयवस्तु बुधबार टुंग्याउने भनिएको थियो । सभापति देउवाले बहुमतको आडमा अल्पमतलाई पेलेको आरोप लगाउँदै पौडेल, सिंह, सिटौलासहित ६ जना सदस्यले आफ्नो फरक मत लिखित रूपमा दर्ता गरेका थिए ।
पार्टीका केही नेताहरूले विवाद साम्य पार्दै बैठक बहिष्कार नगर्न सुझाए पनि असन्तुष्ट पक्ष बैठकमा अनुपस्थित रहने अडान नछाडेपछि सभापति देउवाले अर्को सूचना प्रकाशित नभएसम्म बैठक स्थगित गर्न निर्देशन दिएका हुन् । नेविसंघको विधानसम्बन्धी विवादमा सभापति देउवाले कुनै नयाँ निर्णय नगरी विधानको पुरानै प्रावधान यथावत् कायममात्रै गरेको केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीको अघिल्लो महाधिवेशनले पारित गरेको विधान संशोधन आगामी महाधिवेशनले पास गर्नुपर्नेछ । हालको विधानको व्यवस्थाबमोजिम नेविसंघको सदस्य हुन ३२ वर्ष उमेर कट्न नहुने व्यवस्था पारित भइसकेकाले अन्य प्रावधानका सम्बन्धमा आगामी बैठकमा निर्णय हुने उनले जनाए ।
‘उमेर हद राख्नु भनेको अलोकतान्त्रिक प्रक्रियामात्रै होइन, निषेधको राजनीतिको सुरुवात पनि हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘हामीले यो व्यवस्था मान्दैनौँ भनेर पहिले देखि नै भन्दै आएका हौँ ।’ उमेर हदसम्बन्धी व्यवस्थाले कैयौँ नेताहरुको मनोबल गिर्ने उनको तर्क छ ।
आइतबारको बैठकमा उमेर हदको पक्षमा बोलेका केन्द्रीय सदस्य गुरु बरालले बंगलादेश युनिभर्सिटीको उदाहरण प्रस्तुत गरेका थिए । ‘बंगलादेशका विद्यार्थीले बंगलादेश युनिभर्सिटीलाई नै क्याप्चरमा राखेका छन्,’ उनको भनाइ उद्धृत गर्दै यादवले भने, ‘शिक्षालाई सकारात्मक दिशा दिन सक्नेलाई नेतृत्व दिने कि जो पायो त्यहीलाई ?’
सभापति शेरबहादुर देउवाले पनि नेविसंघका बहुसंख्यक नेता तथा विद्यार्थीको चाहना उमेर हद लागू हुनुपर्छ भन्ने रहेको भन्दै ११औँ महाधिवेशनमा नेविसंघले नै तयार गरेको व्यवस्थालाई हाल अघि बढाइएको बताउँदै आएका छन् ।
महाधिवेशनअघि नै नेविसंघ केन्द्रीय समितिले तयार पारेको विधान निर्देशक समिति हुँदै पार्टीको केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । कांग्रेस केन्द्रीय समितिको पछिल्लो निर्णयसँगै आगामी कात्तिकका लागि तय नेविसंघको १२औँ महाधिवेशनको बाटो खुलेको बताइएको थियो । तर, केही नेताको विरोधले कुन रुप लिन्छ भन्नेमा यो निर्भर रहेको जानकारहरु बताउँछन् । कांग्रेसका शीर्ष नेताहरूबीच नेविसंघको विधान कस्तो बनाउने भन्ने विषयमा विवाद हुँदा यसअघि पार्टीका कैयौँ बैठक प्रभावित भएका थिए । नेविसंघले सर्वसम्मत पारित गरेको अधिवेशन तालिकासहितको विधान निर्देशक समितिमा छलफलका क्रममा विवाद भएपछि समिति नै अनिर्णीत बनेको थियो ।
नेविसंघले पारित गरेको विधानमा ३२ वर्षे हदम्यादको विषय समेटिएको थिएन । तर, निर्देशक समितिको बैठकमा पनि नेताहरू गुरु घिमिरे र किशोर सिंह राठोरले ३२ वर्षे प्रावधानबारे बोलेका थिए । पौडेल पक्षका विद्यार्थी नेताले भने यो अमान्य हुने बताएका थिए । यसरी संगठनभित्र कुरा नमिल्ने देखिएपछि पार्टीको केन्द्रीय समितिबाटै विवाद निराकरण गर्न कतिपय नेताले नेतृत्वलाई सुझाएका थिए । सोहीअनुसार पार्टीको केन्द्रीय समितिले यो व्यवस्थालाई लागू गर्नुपर्ने निर्णय गरेको थियो । तर, पौडेलसहितका केही नेताको असन्तुष्टिले अन्य विषयमा छलफल गर्न बस्ने भनिएको केन्द्रीय समिति बैठक नै अनिश्चित बनेको छ ।
बैठक छाडेर नेताहरु जिल्लातिर
अधिकांश केन्द्रीय सदस्य अहिले जिल्ला पुगिसकेका छन् । पार्टीका बैठक गुट र उपगुटका कारण निष्कर्षहीन हुने र सभापतिले एकलौटी निर्णय लिने गरेको भन्दै कतिपय केन्द्रीय सदस्य बैठकमा आउनै छाडेको बताइन्छ । काठमाडौंमै भएका कतिपय केन्द्रीय सदस्य पनि पार्टी बैठकलाई बेवास्ता गर्दै दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा व्यस्त छन् ।
नेता पौडेलले दसैं शुभकामना आदानप्रदान कार्यक्रमका लागि तनहुँ पुगेका छन् । पौडेल पार्टीको कार्यक्रममा दुई दिनसम्म उपत्यकाबाहिरै रहनेछन् । नेता सिटौला बुधबारै विराटनगर पुगेका छन् । उनी बिहीबार सुनसरी, शुक्रबार बारा र शनिबार वीरगन्जमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुने भएका छन् ।
नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा. रामशरण महत विदुरमा जिल्ला समितिले आयोजना गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन नुवाकोट पुगेका छन् । महामन्त्री डा. शशांक कोइराला विभिन्न कार्यक्रममा सहभागी हुन चितवन र नवलपरासी दौडाहामा छन् । केन्द्रीय सदस्य डा. शेखर कोइराला त आइतबारकै बैठकमा अनुपस्थित थिए ।






















