दसैं खर्च पाएपछि राउटे मुखियाले भने -हाम्रा जनता निराश छैनन्
वि.सं.२०७५ असोज २८ आइतवार ०१:०२
shares

जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटेलाई पनि दसैंले छपक्कै छोपेको छ । सुर्खेतका राउटे मुखिया हरिबहादुर शाहीलाई खसी खोज्ने चटारो छ । आफूलाई मात्रै होइन, ४२ घरका ‘जनता’का लागि दसैंमा खसी चाहिने भएकाले माग पुरा गर्न चुनौति छ । राउटेहरु सुर्खेतको लेकवेशी नगरपालिका– ९, साटाखाँनी गंगटेमा भर्खर बसाँई सरेर आएका थिए ।
दसैंमा प्रत्येक परिवारले खसी या बाख्रा काट्नैपर्ने चलन छ । सुर्खेतमा मात्र ४२ घर राउटे बसोबास छ । ४२ घरमा १ सय ५० जना सदस्य छन् । सबैको घरमा एक–एक ओटा खसी वा बाख्रा काट्नै पर्ने चलन छ । दसैंमा माइतीमा खसी या बाख्राको एउटा खुट्टा लैजानै पर्ने चलनले राउटेलाई खसीको जोहो गर्नैपर्ने हुन्छ । त्यसैले राउटेहरू खसी, बाख्रा किन्ने पैसा संकलन गर्न दौडधुप गरिरहेछन् ।
मुखियाले दसैंको खर्च जोहो गर्ने आर्थिक सहयोग माग्न आफ्ना जनतालाई विभिन्न जिल्लामा पठाएका छन् । मुखिया हरिवहादुर भने प्रधानमन्त्रीसँग खर्च माग्न काठमाडौं आए । ६२ वर्षका राउटे मुखिया हरिबहादुर शाही, २० वर्षका दीपक शाही, ३० वर्षका शिवराम शाही र २५ बर्षका शुभराम शाही काठमाडौं आएका थिए । उनीहरुले आफ्नै पोसाक भादगाउँले टोपी र शरीरमा नसिलाएको कपडा सेतो बर्को ओडेका थिए । कालो वर्णमा झुस्स दारी पालेका उनीहरुको आफ्नै शैली र हाउभाउ थियो ।
दसंै मान्ने खर्च माग्न उनीहरु सबै परिवारलाई पुग्ने पर्याप्त खर्च लिएर फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर खर्च लिने योजनासहित उनीहरु काठमाडौं आएका थिए । प्रधानमन्त्रीलाई भेट्न असोज २४ र २५ गते २ दिनसम्म बालुवाटार धाएका थिए । प्रधानमन्त्री भेट नदिएपछि निराश थिए । तर प्रधानमन्त्रीले चार लाख सहयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि राउटेहरुले रकम पाए ।
सरकारसँग माग राखेको रकम हात परिसकेको मुखिया हरिबहादुर शाहीले बताए । ‘सरकारी मान्छेहरुसँग भेट्ने काम सक्कायौं, पैसो पनि पायौं, कम्बल पनि किनिसक्यौं’ मुखिया हरिबहादुरले भने ‘बाख्रा, कुखुरा उतै गएर किन्ने हो, अब हाम्रा जनता निराश हुने छैनन् । मज्जैले दसैं मनाउँनेछन् ।’ सरकारी मान्छेले राम्रो सहयोग गर्यो भन्दै उनीहरु प्रशन्न मुद्रामा घर फर्किएका छन् ।
२२ गते सुर्खेतबाट हिँडेका उनीहरु २३ गते विहान काठमाडौं आइपुगेका थिए । सुर्खेतबाट आएका उनीहरुलाई त्यहीँका एक जनाले निःशुल्क टाटासुमोमा काठमाडौं ल्याउन सहयोग गरे । आएकै दिन उनीहरुले केही मन्त्री तथा सांसदहरुसँग भेटे । उनीहरुलाई बानेश्वरस्थित राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्रका कर्मचारीले बस्ने व्यवस्था मिलाएका थिए ।
दीपकको गुनासो ‘मितले सहयोग गरेनन्’
आएकै दिन उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई भेट गरी दसैं खर्च लिन आएको सुनाए । सोही दिन बहादुर भवन गएर उनीहरुले उपराष्ट्रिपति नन्द बहादुर पुनलाई पनि भेटे । मित साइनोको कारण राउटेहरुले उपराष्ट्रपति पुनसँग भेटेका हुन् ।
मुखिया हरिबहादुरसँगै आएका दीपकबहादुर शाही उपराष्ट्रपति पुनका छोरा दिपेशका मित हुन् । २० वर्षका दिपक र दिपेशबीच २ बर्षअगाडि मित साइनो जोडिएको थियो । काठमाडौं आएको मौकामा थोरै भए पनि सहयोग मिल्ने आशमा उनीहरु मित बा र मितलाई भेट्न उपराष्ट्रपति कार्यालय धाएका थिए । तर मित परिवारबाट कुनै सहयोग नपाएको दिपकले गुनासो गरे । ‘दुख परे मितका घर जानु भन्ने उखान नै छ, मित सरकारका ठूला मान्छे छन् केही सहयोग गर्लान् कि भनेर आएको तर मितले सहयोग दिएनन्, कम्मल र केही पैसा दिन्छु भने तर दिँदै दिएनन,’ दिपकले भने ।
पैसा छुँदा धर्म हुन्छ
‘पहिला पैसा छोएमा पाप लाग्छ’ भन्ने राउटे अहिले बिना पैसा कसैसँग बोल्दा पनि बोल्दैनन् । कपडा भने नसिलाएका र खाली खुट्टासहित काठमाडौं आएका उनिहरुलाई सहकारी प्रशिक्षण केन्द्रका कर्मचारीले एक एक जोर जुत्ता दिएपछि लगाएका थिए । सहकारी प्रशिक्षण केन्द्रका कर्मचारीहरु मिलेर पैसा उठाएर उनीहरुलाई खाना खाने व्यवस्था मिलाएका थिए । ४ दिन ३ रात उनीहरु त्यहीँ बसे ।
४ दिनसम्म उनीहरुलाई भेट्न थुप्र्रै मिडियाबाट पत्रकार आए तर उनीहरुले सबैसँग सहजै बोलन मानेनन् । बोल्न मात्र होईन फोटो खिच्न क्यामेरा तेर्साएमा उनीहरु भागिहाल्थे । राउटे मुखियाले पैसा राख्ने थैली देखाउँदै ‘पैसा छैन जेब खाली छ दिनुस्’ भन्दै माग्थे । हरिबहादुर भन्थे ‘मुखियासँग पैसा छैन भने अरु जनतासँग के पैसा छ र त्यसैले दिनुस ।’ फेरी एकजनालाई मात्र पैसा दिएर हुँदैनथ्यो । सबैलाई रिझाएपछिमात्र उनीहरु कुरा गर्न राजी हुन्थे ।
‘पैसा छोएरमा पाप लाग्छ भन्या होईन किन पैसा मागेको भन्ने जिज्ञासामा मुखिया हरिबहादुर भने, ‘पहिला सबै कुरा सित्तैमा पाइन्थो, अहिले त पैसाबिना केही आउँदैन, जनता पाल्न पैसा त चाहियो नी !’ अहिले पैसा छोए पाप लाग्ने भनिए पनि अहिले त्यो चलन फेरिएर भने पैसा नछोए पाप लाग्ने उनले सुनाए । उनले आफूहरुको वास्तविक परिस्थीती सुनाउँदै भने ‘पैसा नभए जनतालाई के खुवाउने हो, त्यसैले पैसा नछोए जनता भोकै मर्छन् ।’
अनौठो चलन बच्चा पाउनासाथ बाख्रो काटिन्छ
दसैंकै लागि खर्च जुटाउन राउटेहरु टाढा टाढासम्म जान्छन् । हरेक घरमा खसी बाख्रा अनिबार्य काट्नुपर्ने हुन्छ । माइतीमा कोसेली खसी बाख्राको खुट्टा लैजानुपर्ने चलन छ । त्यसैले मिठो खानपीन लत्तापकड तथा खसी बाख्रा जुटाउन धेरै खर्चको आवश्यकता पर्छ ।
‘आफैले बाख्रा पालन गरेमा सहजै दसैं टथ्र्यो कि ?’ भन्ने जिज्ञासाम मुखिया हरिबहादुरले अचम्मको चलन सुनाए । केही राउटे परिवारले बाख्रा पनि पालेका छन् । तर बाख्राले बच्चा जन्माउनासाथ माउ काटिन्छ । पाठा पाठी दुई तीन महिना पुग्न नपाउँदै सुत्केरी बाख्रा काट्नुपर्ने चलन छ । त्यो नियम हरेक घरमा लागु हुने भएकाले बाख्राको संख्या धेरै हुँदैन । मुखिया हरिबाखुरले भने, ‘बच्चा पाएपछि दुई तिन महिनाभित्र माउ काट्नुपर्ने चलन छ, त्यसेले हरेक घरमा एक वटा मात्र बाख्रा हुन्छ । धेरै हुँदैन ।’
भात खान दसैं कुर्नुपर्ने
आम हिन्दुहरुको महानपर्व दसैं भए जस्तै राउटे सुमदायले दसैलाई मुख्य पर्व मान्छन् । जंगलमा बसे पनि दसैं मनाउने चलन आममानिस जस्तै रहेको उनीहरु बताउँछन् । ‘मिठो मसिनो खाने, ठूलाबडाबाट टीका थाप्ने र आशीर्वाद लिने, काम हुन्छ,’ मुखिया हरिबहादुरले सुनाए । पुगेसम्म दसैंको अवधीभर मीठा मीठा परिकार खान सुरु हुन्छ । दसंैमा पेटभरि भात खान पाइनेमा सबै राउटेहरु आशावादी हुन्छन् । बच्चाबच्ची मीठो खान पाएकामा रमाइरहेका हुन्छन् ।
दसैंका लागि जाँड पनि धेरै चाहिने भएकाले भएको चामलले अहिले नै जाँड राख्न सुरु भइसकेको छ । घटस्थापनादेखि नै साँझपख नाचगान हुन्छ । दिनभर काठका सामान बनाउने र बेच्ने गरिसकेपछि बेलुकापख सबै बसेर दसैंसम्बन्धी विभिन्न गीत गाउँदै गाउँछन् । विजयादशमीका दिन टीका लगाएपछि पनि दुई दिनसम्म नाँचगाँन हुने गरेको मुखिया वीरबहादुर शाहीले बताए । उनले भने ‘दसैं ठूलो पर्व हो, यसैले सबैले आ–आफ्नो तरिकाले तयारी गरिराखेका छन् ।’
राउटेहरु विजयादशमीको दिन मात्रै बलि दिन्छन् । दशमीको दिन बिहानैदेखि खसी, बाख्रा काट्ने चलन छ । आफ्नो परिवारमा टीका, जमरा लगाइसकेपछि खसीको खुट्टा, टीका, जमरा लिएर माइतीको घरमा जान्छन् । ‘हरेक चेली माईत जाँदा आफ्नो घरमा काटिएको खसी बाख्राको खुट्टा कोसेली लैजानुपर्ने चलन छ, टिकाको दिन घर जान नभ्याउनेहर भोली पल्ट जान्छन्,’ मुखीया हरिबहादुरले भने ।

























