व्यवसायीले सवारीसाधन क्यु फ्रिमा छाडेपछि मनपरी भाडा असुली
वि.सं.२०७५ असोज ३१ बुधवार १९:५७
shares

सुदूरपश्चिमका सार्वजनिक यातायात व्यवसायी जिम्मेवारीबाट पन्छिँदै सवारीसाधन क्यु फ्रिमा छाडेपछि फाट्टफुट्ट चलेका बस र जिपले यात्रुसँग मनपरी भाडा असुल्न थालेका छन् । दसैं मनाउन घर फर्किंदै गरेका यात्रुसँग व्यवसायीले चर्को भाडा उठाउने गरेका हुन् ।
भारतबाट झुलाघाट हुँदै घर फर्किने नेपालीसँग जिप व्यवसायीले चर्को भाडा असुलेका गुनासो यात्रुले गरेका छन् । झुलाघाटदेखि बैतडी सदरमुकामसम्म पुग्दा प्रतिव्यक्ति सय रुपैयाँ र साथमा ल्याएको झोला तथा अन्य समानको पनि सय रुपैयाँ लिने गरेको गुनासो उनीहरुको छ ।
यसैगरी, अत्तरियादेखि बैतडीको भाडा ६ सय रूपैयाँ भए पनि एक हजार ५० रुपैयाँ तिरेर आएको बैतडी दशरथचन्द नगरपालिका–४, बुदखोलाका वीरेन्द्र तिरुवाले बताए ।
नाममात्रको नागरिक सहायता कक्ष
दसैंका बेला यात्रु नठगिउन् भनेर प्रहरीले स्थपना गरेको नागरिक सहायता कक्ष निष्प्रभावी देखिएको छ । यात्रु बढी भाडा तिर्न बाध्य भए पनि नियमन फितलो हुँदा कारबाही प्रक्रिया सुस्त छ ।
प्रहरीले भने बढी भाडा लिएको गुनासो नगरेकाले मनपरी गर्नेलार्इ कारबाही गर्न समस्या भएको बताएको छ । भाडा बढी लिएको गुनासो अहिलेसम्म प्रहरीमा नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए । गुनासो आएमा बढी भाडा लिने सवारीसाधन सञ्चालकलाई कारबाही गर्ने उनले प्रस्ट पारे ।
यो पनि पढ्नुहोस्
जिम्मेवारीबाट पन्छिँदै यातायात व्यवसायी, यात्रुलार्इ सास्ती
बसले बढी भाडा माग्यो ? १०१ वा १०३ मा फोन गरी उजुरी गर्नुहोस्

























